
काठमाडौं । पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा उनले ४५ बलमा १० चौका र ६ छक्काको मद्दतमा १०० रन पूरा गरेका हुन् ।
क्यानडाका ओपनरसमेत रहेका सम्राले एनपीएलमा आफ्नो दोस्रो खेलमै शतक बनाएका हुन् । उनी यस सिजन शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । यस्तै, सम्रा एनपीएलमा शतक प्रहार गर्ने पोखराका तेस्रो तथा समग्रमा चौथो खेलाडी हुन् ।
यसअघि पोखराका आन्द्रे गौसले पहिलो सिजनमा लुम्बिनी लायन्सविरुद्ध शतक बनाएका थिए । दोस्रो सिजनमा पोखराकै एडम रोसिङटनले कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका थिए ।
यस सिजन पोखराका लागि कुनै पनि खेलाडीले बनाएको यो उच्च स्कोर हो । यसअघि पोखराका कुनै पनि खेलाडीले अर्धशतकसमेत बनाउन सकेका थिएनन् ।
सम्राले पहिलो विकेटका लागि महेदी हसनसँग २७ रनको साझेदारी गरेका थिए । ओपनर हसन सस्तैमा आउट भएपछि सम्राले कुशल भुर्तेलसँग मिलेर दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै पोखराको इनिङ्स अघि बढाएका थिए ।

























