
विराटनगर । मोरङको रंगेली नगरपालिका–५ भेरुवाथानस्थित मामाघर गएका नाबालक दाजुभाइ मंगलबार दिउँसो पोखरीमा डुबेका छन् ।
पोखरीमा डुबेकामध्ये एक जनाको मृत्यु भएको छ । अर्का घाइते भएका छन् । भाइको मृत्यु भएको हो भने मध्यम अवस्थाका दाजुको उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मोरङको कटहरी गाउँपालिका–५ घर भएका रञ्जीत ठाकुरका छोराहरु २ वर्षीय नीरज र ६ वर्षीय मनिष ठाकुर रंगेलीस्थित मामाघर गएका थिए । दुवै जनालाई मामाघरको पछाडि रहेको पोखरीमा डुबिरहेको अवस्थामा दिउँसो १२ बजेतिर फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
उनका अनुसार दुवै जनालाई घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनसाथ भाइ नीरजलाई चिकित्सकले मृत घोषित गरेको जानकारी बस्नेतले दिए । रंगेलीमा सम्भव नभएपछि दाइ मनिषलाई थप उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको उनको भनाइ छ ।
मध्यम अवस्थाका मनिषको स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । डीएसपी बस्नेतका अनुसार नाबालक दाजुभाइ खेल्ने क्रममा त्यहाँ पुगेको र पोखरीमा खसेर डुबेको हुनसक्ने देखिन्छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोष खड्का नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

























