
काठमाडौं । राष्ट्रिय सभाबाट संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले पेस गरेको सर्वसम्मतले पारित गरेको हो ।
पछिल्लो पटक सरकारले २५ फागुन २०७९ मा प्रतिनिधि सभामा संशोधन विधेयक दर्ता गरेको थियो । संशोधन संघीय संसदको दुवै सभाले पारित गरेको हो ।
विधेयक पारित हुनु अगाडि राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले विधेयक कानुनमा रुपान्तरित भएसँगै आयोग गठनको प्रक्रिया शुरु हुने बताए ।
राष्ट्रिय सभामा माओवादी केन्द्रका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठले तत्कालीन माओवादीले संचालन गरेको सशस्त्र युद्धबाट नेपालमा राजनीतिक परिवर्तन र उपलब्धी हासिल भएको बताए ।
राष्ट्रिय सभामा नेकपा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेले शान्ति प्रक्रिया टुंग्याउन वर्तमान सरकार लागेको भन्दै निष्कर्षमा पुर्याउन सबै सहयोगी हुनुपर्ने बताइन् ।

























