
विराटनगर । विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रा आज निकालिदैछ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्राका लागि प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
विराटनगरको रथयात्रालाई दक्षिण एसियाको दोस्रो ठूलो रथयात्रा भएको दाबी गरिन्छ । विराटनगरमा विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो । २०२५ सालबाट खटसँगै रथयात्रा निकाल्न थालिएको हो । खटको ९३ औं र रथको ५६ औं संस्करण हो ।
विराटनगर महानगरपालिका– १ स्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगल जोडीसहितको रथ निकालिन्छ । आज दिउँसो साढे ३ बजे मन्दिरदेखि सुरु हुने रथयात्राले बजार क्षेत्रको ९ किलोमिटर यात्रा तय गर्ने छ ।
राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैन, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।
राधाकृष्ण रथयात्रालाई लक्षित गरेर प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।
राधाकृष्ण रथयात्रा हेर्न पूर्वी नेपालसहित छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट हजारौं भक्तजन आउने गरेका छन् । रथयात्रालाई भव्य, सुरक्षित र मर्यादित बनाउन ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सादा पोसाकका र हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
प्रहरीले करिब १ महिना अघिदेखि नै रथयात्रा लक्षित सुरक्षा तयारी थालेको थियो । विशेष गरेर यात्राका क्रममा हुनसक्ने चोरी, पकेटमारी र लुटपाट केन्द्रित गरेर प्रहरी सक्रियता बढाइएको हो । डीएसपी बस्नेतका अनुसार विगतमा अवाञ्छित गतिविधि गर्दै आएका र केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको छ ।


























