
विराटनगर । कोशी प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेश निजामती सेवा ऐन संशोधन गर्न बनेको विधेयक पास गर्न लेखा समूहका कर्मचारीले माग गरेका छन् । गत २ साउनमा प्रदेशसभा सचिवालयमा दर्ता भएको संशोधन विधेयक जारी अधिवेशनबाटै पास गर्न माग गरेका हुन् । १४ भदौमा प्रदेशसभा बैठक बस्दैछ ।
लेखा समूह वृति विकास विभेद भएको भन्दै आन्दोलनमा छ । लेखा समूहको माग सम्बोधन गर्ने गरी सरकारले गत साउन २ गते कोशी प्रदेश सभा सचिवालयमा संशोधन विधेयक दर्ता गरेको थियो ।
प्रदेशसभा बैठक नजिकिएपछि लेखा समूहले संशोधन विधेयक पास गर्न माग गरेको हो । लेखा समूहले केही स्वार्थ समूहले संशोधनलाई विफल पार्न प्रयास गरिरहेको भन्दै सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष र पारदर्शी बनाउनका लागि संशोधन विधेयक पास गर्न माग गरेको छ ।
‘ संघीय निजामती सेवा ऐन बमोजिम नियुक्त भएका कर्मचारीहरू सङ्घ मै रहन सक्ने अवस्था हुँदाहुँदै पनि प्रदेशको सेवा सर्त सुविधा तथा भविष्यको अनिश्चित अवस्थामा समेत विभिन्न तहमा समायोजन भइ प्रदेशको सेवामा खटिएको कुरा ध्यानाकर्षण गराउन चाहन्छौ,’ लेखा समूहले भनेको छ,‘प्रदेश निजामती सेवामा कार्यरत कर्मचारीहरूले समान वृत्ति विकासको लागि गरेको माग अनुसार कोशी प्रदेश सभा सचिवालयमा दर्ता भएको प्रदेश निजामती सेवा ऐन संशोधन विधेयक यथाशीघ्र चालु अधिवेशनबाट नै पारित गर्न जोडदार माग गर्दछौँ । कुनैपनि बहानामा ढिलासुस्ती स्वीकार्य हुनेछैन ।’

























