अराजकताको परकाष्ठा : आवश्यकता पर्दा ऋण लिने, तिर्ने बेलामा आक्रमण गर्ने

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र १३, बिहीबार ०८:१५

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका– २ का रामबहादुर लिम्बूले अभियान लघुवित्त वित्तीय संस्थाको दलेली शाखाबाट लिएको ऋण मध्ये १ लाख ७० हजार रुपैयाँ ऋण तिर्न बाँकी छ ।

गाउँका अगुवा उनले ३ वर्षयता किस्ता तिरेका छैनन् । उनले गाउँका अरु ८ जना सदस्यको नामबाट करिब १६ लाख ऋण निकालेका छन् ।

Advertisement

लघुवित्तले ऋण तिर्न ताकेता गरेपछि मंगलबार कार्यालय पुगेर उनीसहितको समूहले मंगलबार लघुवित्तको कागजात र कम्युटरमा आगजनी गर्यो । तोडफोड पनि गरियो । प्रहरीका अनुसार लिम्बूले मणिराम ज्ञवाली नेतृत्वको लघुवित्त पीडित संघर्ष समितिका सदस्यलाई छलफलका लागि भन्दै बोलाएका थिए । कार्यालयमा पुगेपछि उनले आगजनी गरे । आगजनीमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

‘आफ्नै परिवारको नाममा एक लाख ७० हजार ऋण रहेछ । तर, केन्द्रका अरु ८ जनाको नामबाट करिब १६ लाख चलाएको भन्ने छ,’ अनुसन्धानमा खटिएको प्रहरी भन्छ, ‘ऋण तिर्नु पर्ने भएपछि आगजनी गरेको देखिन्छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।’

कानेपोखरीको दलेलीमा भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले रामबहादुरसँगै सोही स्थानकी चन्द्रकला मगर र दिलिप झागडसँगै उर्लाबारीका मीना रसाइली र राधा विश्वकर्मालाई पक्राउ गरेको छ ।
…..

मोरङको बेलबारी नगरपालिका–६ का ५० वर्षीय माधव गिरीकी श्रीमती पवित्रा र छोरी नेशनल लघुवित्त वित्तीय संस्थाको सदस्य छन् । गाई फार्म सञ्चालन गरिरहेका उनले २०७९ पुसमा श्रीमती र छोरीको नामबाट ३ लाख ५० रुपैयाँ ऋण लिएका थिए । २ किस्ता तिरेयता उनले ऋणको किस्ता तिरेका छैनन् ।

लघुवित्तका कर्मचारीले किस्ता तिर्न आग्रह गर्दा सधैं पैसा छैन मात्रै भन्थे । मंगलबार दिउँसो लघुवित्तको बाहुनी शाखामा दलबलसहित पुगेका गिरीले कार्यालयको खातापाता, कागजात र ल्यापटप निकालेर सुनसरी–मोरङ सिचाईं आयोजनाको नहरमा फालिदिए ।

घटनापछि उनीसहित व्यक्तिहरु फरार रहेको प्रहरीले बताएको छ । लघुवित्तको कागजात र ल्यापटप नहरको पानीमा डुबेका कारण काम नलाग्ने अवस्थामा छन् । ‘पैसा लिने तर, तिर्ने बेलामा लघुवित्तको सामान फालेको देखिन्छ,’ अनुसन्धानमा खटिएको प्रहरी भन्छन्, ‘संघर्ष समितिको नाममा तिर्न पर्दैन कि भनेर अराजकता मच्चाएको पाइयो ।’

पछिल्लो १ वर्षयता लघुवित्त पीडित संघर्ष समितिको नाममा ऋणीले आन्दोलन गरिरहेका थिए । गत ६ चैतमा सरकारसँग सहमति भएपछि आन्दोलन फिर्ता भयो । धर्ना र विरोध रोकिएपछि लघुवित्तको रोकिएका केन्द्र बैठक नियमित भएका थिए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग सहमति गरेको मणिराम ज्ञवाली नेतृत्वको संघर्ष समितिले सरकार परिवर्तन भएपछि फेरि संघर्ष सुरु गरेको छ । सरकारले सहमति पालना नगरेका कारण आन्दोलन सुरु गरेको ज्ञवालीको दाबी छ ।

ऋण लिने तर नतिर्ने भन्दै आन्दोलन गर्नु वित्तीय अराजकता रहेको अर्थशास्त्री डाक्टर भेषप्रसाद धमला बताउँछन् । ऋण लिने र नतिर्ने प्रवृतिले अर्थतन्त्रलाई असन्तुलन बनाउने उनको भनाइ छ ।

वित्तीय अराजकता रोक्नका लागि राज्यले कडाइ गर्नुपर्ने बताउँदै उनी भन्छन्, ‘लिएको ऋण तिर्दिन भन्न मिल्दैन । दिने संस्थाले पनि तिर्नका लागि सहुलियत वातावरण बनाइदिनुपर्छ ।’ ऋण मिनाहाको हल्ला चलाएर ऋण नतिर्ने प्रवृति बढ्दो रहेको उनले बताए ।

‘लघुवित्तबाट लिएको ऋणको सही सदुपयोग गर्नेहरु सफल भएका छन् । प्रगति गरेका छन्,’ डा. धमलाले भने, ‘दुरुपयोग गर्नेहरु विभिन्न संस्थाबाट ऋण लिएर फसेका छन् । त्यस्ता मान्छेहरु आन्दोलनमा छन् ।’

आफ्नो आवश्यकता पूरा गर्न लघुवित्तबाट ऋण लिने तर, तिर्ने बेलामा कार्यालयमा आक्रमण गर्ने प्रवृत्ति अराजक भएको नेपाल लघुवित्त बैंकर्स संघमा महासचिव सञ्जयकुमार मण्डल बताउँछन् । यस्तो अराजक गतिविधि गर्नेलाई राज्यले कारबाहीको दायरामा ल्याउनु पर्ने उनको भनाइ छ ।

‘लघुवित्तले लगानी गरेको ऋण जनताकै पैसा हो । जनताको पैसा लिएर तिर्दिन भन्न पाइँदैन । लिएपछि तिर्नुपर्छ,’ उनले भने, ‘ग्रामीण भेगमा घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको लघुवित्तका कर्मचारी र कार्यालयको सुरक्षाको जिम्मेवारी राज्यले लिनुपर्छ । नत्र थप अराजकता बढ्छ । आक्रमण र आगजनीको पछिल्लो घटना अराजकताको परकाष्ठा हो ।’

देशको अर्थतन्त्रको अवस्थाका कारण ऋण मिनाहा सम्भव नभएको बताउँदै मण्डलले ऋण मिनाहाको भ्रमलाई राज्यले चिर्नुपर्ने माग गरे । सेवाग्राही सदस्यहरुले पनि लघुवित्तको वास्तविकता र आवश्यकता बुझेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

‘भ्रमको पछि नलागी समस्यामा परेका सदस्यहरु सहजीकरणको बाटोमा जानु पर्छ । समस्यामा परेकाहरुकै लागि नेपाल राष्ट्र बैंकले सहजीकरणको नीति पनि ल्याएको छ,’ उनले भने, ‘लघुवित्त कार्यक्रम विपन्न वर्ग कै लागि हो । भ्रमको पछि लागेर वित्तीय सेवाबाट बञ्चित भए सबैभन्दा बढी नोक्सानी विपन्न वर्गलाई हुन्छ ।’

तपाइको प्रतिक्रिया
मोरङ उर्लाबारीका छत्रबहादुर : परदेशबाट फर्किने प्रतीक्षामा परिवार, तर बाकसमा आयो शव
भारी हिमपातले आरोहण प्रभावित
बाढी प्रभावित परिवार बसाउन २७७ कित्ता जग्गा पहिचान
 गाँजा खेतीलाई वैधानिकता दिने सरकारको तयारी
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कार्यवाहक प्रधानमन्त्री
एमाले बैठकमा नेतृत्वको कार्यशैलीमाथि प्रश्न, पुनर्गठन कार्यदलको प्रतिवेदन माग
भरत दाहालको रिटमा कारण देखाउ आदेश
त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो
सहारा नेपालको निर्वाचनमा होमिएकी प्रमिला तिम्सिना, उत्कृष्ट बुहारीदेखि महिला सदस्यको उम्मेदवारसम्म
आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
नेपाल पाकिस्तानसँग पराजित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×