
विराटनगर । पाँचथरकाे फालेलुङ गाउँपालिका–५, डाँडागाउँमा ग्रिनेट बम बिस्फोट हुँदा एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।
बिहीबार दिउँसाे करिब साढे ३ बजे विस्फोटमा परी घाइते भएका दिलिप साँवाकी अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो ।
पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार प्रिन्साको उपचारका लागि लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा उपचारको क्रममा मृत्यु भएको हो ।
आइतराज केरुङको घरमा बिहीबार भएकाे विस्फोटमा परेर ४ जना बालबालिका घाइते भएका थिए । घाइतेमध्ये प्रिन्सा र दिप्सनको अवस्था गम्भीर थियो । घटनामा ज्ञानबहादुर राईका ९ वर्षीय छोरा पवन र अर्का एक बालक पनि घाइते भएका छन् । उनीहरुको अवस्था समान्य छ ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार विस्फोट भएको वस्तु कुन बम हो भन्ने यकिन भएको छैन । हेर्दा ग्रिनेट जस्तो देखिएको उनले बताए । विस्फोट भएको स्थान नजिकै अर्को बम जस्तो वस्तु पनि भेटिएको छ । शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ ।
‘होम मेड ग्रिनेट जस्तो देखिन्छ, तर यकिन भइसकेको छैन विस्फोट भएजस्तै वस्तु घटनास्थलनजिकै फेला परेको छ, नेपाली सेनाको टोलीले डिस्पोज गरेपछि थाहा हुन्छ,’ उनले भने,‘ अनुसन्धान जारी छ ।’

























