
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका –२ दलेलीमा अभियान लघुवित्त वित्तीय संस्थाको कार्यालयमा आक्रमण गर्ने पाँच जना हाजिरी जमानीमा छुटेका छन् । लघुवित्त विरुद्धको संघर्ष समिति र लघुवित्तबीच ८ बुँदे सहमतिपछि पक्राउ परेका पाँच जना छुटेका हुन् ।
लघुवित्त संस्थाका कर्मचारी र लघुवित्त संघर्ष समितिबीच बिहान सूर्याेदयअघि र बेलुका सूर्यास्तपछि लघुवित्तका कर्मचारी सदस्यको घरमा नजाने सहमति भएको छ । कर्जा उठाउनका लागि दिउँसो मात्रै जान पाउने सहमति छ ।
लघुवित्त र संघर्ष समितिबीच भएको सहमतिमा संघर्ष समितिले कोशी प्रदेश भरि अराजक गतिविधि नगर्ने, संस्थाका कर्मचारी प्रति हातपात नगर्ने र दुवै पक्षले एक अर्कालाई अभद्र व्यवहार नगर्ने उल्लेख छ ।
लघुवित्तले संस्थाको नीति नियममा रहेर बचत तथा अन्य कारोबार संस्थाको प्रक्रिया बमोजिम गर्ने, संघर्ष समितिले प्रदान गरेको परिचयपत्र अनुसार सदस्यलाई दबाव नदिने तर प्रोत्साहन गरी कर्जा तथा बचत असुली गर्ने लगायत सहमति भएको छन् ।
गत मंगलबार अभियान लघुवित्त वित्तीय संस्थाको दलेली शाखामा तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेका कानेपोखरी गाउँपालिका– २ का रामबहादुर लिम्बु ,सोही स्थानका चन्द्रकला मगर र दिलिप झाँगड तथा उर्लाबारीका मिना रसाइली र राधा विश्वकर्मालाई पक्राउ गरेको थियो । सहमतिपछि पक्राउ परेकाहरु छुटेको मोरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।


























