
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र एकै घरका दुई जना नाबालिका शनिबार दिउँसो मृत फेला परेका छन् ।
स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्कीको शव दिउँसो ४ः३० बजेतिर भेटिएको हो । अर्जुनकी पत्नी (श्रीमती) २९ वर्षीया अस्मिता पौडेल सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । केराघारीभित्र २ बालिका मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भएका अर्जुन पत्नी र २ छोरीसहित मोरङको सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । नजिकै नयाँ घर पनि बनाउँदै गरेको पाइएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार शुक्रबार साँझ अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको खुलेको छ । पतिसँग विवाद भएपछि छोरीहरुलाई लिएर राति ८ः३० बजेतिर अस्मिता हिँडेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको उनले बताए ।
अस्मिताले लिएर हिँडेका नाबालिका छोरीहरुको शव अँगालो मारेको अवस्थामा भोलिपल्ट फेला परेको छ । दिदी आयिकाले बाहिनी अर्पणालाई अँगालो मारेको अवस्थामा शव भेटिएको हो । आमा अस्मिता भने सम्पर्कविहीन रहेकाले खोजी भइरहेको जानकारी डीएसपी बस्नेतले दिए । घटनाको प्रकृति हेर्दा विष खुवाएर दुवै बालिकाको हत्या गरेजस्तो देखिने उनले बताए ।

उनका अनुसार बालिकाको शव फेला परेको स्थाननजिकै कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको छ । ‘बाहिरी चोटपटक देखिएको छैन । घटनास्थलमा मेटासिटको बट्टा फेला परेको छ,’ बस्नेतले भने, ‘दिदीले बहिनीलाई अँगालो मारेको अवस्थामा दुवैको शव भेटिएको हो । घटनास्थलको प्रकृति हेर्दा विष खुवाएर हत्या गरेजस्तो देखिन्छ ।’ छोरीहरुलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
डीएसपी बस्नेतले बालिकाकी आमा भेटिएपछि र थप अनुसन्धान गरेपछि मात्रै घटनाका बारेमा प्रष्ट हुने बताए । दुवै नाबालिकाको शरीरमा बाहिरी चोटपटक भने नदेखिएको जानकारी उनले दिए । बालिकाका बुवा अर्जुन प्रहरीको सम्पर्कमै छन् ।
अर्जुनले नयाँ घर बनाउँदै थिए । निर्माणाधीन घरमा पानी लगाउने विषयमा पति–पत्नीबीच विवाद भएको पाइएको प्रहरीले जनाएको छ । ‘आफूसँग विवाद भएपछि २ नाबालिका छोरी लिएर अस्मिता हिँडेको भनेर अर्जुनले भनेका छन् । नाबालिकाहरु अहिले मृत फेला परे,’ प्रहरी स्रोतले भन्यो, ‘यसअघि पनि पतिसँग विवाद हुँदा अस्मिताले नानीहरु लिएर हिँड्ने र पुनः फर्किएर आउने गरेको पाइयो । थप विषय अनुसन्धानपछि पत्ता लाग्छ ।’
घटनाको जानकारी पाउनसाथ थप अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैं घटनास्थल पुगेका छन् । कानुनी प्रक्रिया पूरा गरेर दुवै शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।



















