
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा ट्रकलाई जोगाउने क्रममा म्याजिक भेन दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
कोशी लोकमार्गमा को १ ज २१५० नम्बरको म्याजिक भेनले ना ३ ख १०७१ नम्बरको ट्रकलाई बचाउन खोज्दा आफैं अनियन्त्रित भएर सोमबार दिउँसो १ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सडक क्रस गर्दै गरेको ट्रकलाई जोगाउने क्रममा म्याजिक सडकमा पल्टिएको हो ।
घाइते हुनेमा म्याजिक चालक सुनसरीको दुहबी नगरपालिका–८ का २९ वर्षीय केदार बर्मा, दुहबी–४ का ३५ वर्षीया सैफुन खातुन, ३३ वर्षीया ममिना खातुन, हरिनगरा गाउँपालिका–२ की ३५ वर्षीया हदिशा खातुन र मोरङको रंगेली नगरपालिका–२ की ४२ वर्षीया सुनीता माझी, बूढीगंगा–४ की ३३ वर्षीया आरती पोदार, बूढीगंगा–५ की २९ वर्षीया सपना बस्नेत र ५२ वर्षीया मंगलमाया बस्नेत रहेका छन् ।
घाइते सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनीहरुको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले म्याजिक, ट्रक र ट्रकका चालक मोरङको ग्रामथान गाउँपालिका–३ का २६ वर्षीय सञ्जय ऋषिदेवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

























