
विराटनगर । नेपालीकी किशोरी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका व्यक्तिलाई अमेरिकाकी ह्युस्टन अदालतले छाड्न अस्वीकार गरेको छ । टेक्सस राज्यको ह्युसटनमा २१ वर्षीय नेपाली विद्यार्थी मुना पाण्डेका हत्याका आरोपी बबी सिंह शाहलाई धरौटीमा छाड्न अदालतले अस्वीकार गरेको हो ।
स्थानीय पत्रिका क्लिकटुह्युस्टनले जनाए अनुसार आरोपी शाहले एक वर्षदेखि पाण्डेलाई पछ्याइरहेको जनाएको छ । उनी काम गर्ने रेस्टुरेन्ट मार्फत आरोपीले पाण्डेको पिछा गरिरहेका थिए ।
प्रारम्भिक बयानका क्रममा शाहका वकिलले शाहलाई धरौटीमा छाड्न माग गरेका थिए । तर अदालतले डिसेम्बरमा हुने अर्को सुनुवाइ सम्म जमानत अस्वीकार गरेको छ ।
उनका साथी दीपेन्द्र कुँवरका अनुसार पाण्डेले एक वर्षअघि आफूलाई कसैले निरन्तर पछ्याइरहेको भन्दै सहयोग मागेको बताइएको छ । ‘उनले त्यसबेला कुनै व्यक्ति झ्यालमा आएका छन् भनेकी थिइन्, कसैले उसलाई पछ्याइरहेको थियो’, कुँवरले स्थानीय पत्रकारसँग भनेका छन्, ‘झ्याल र ढोका आसपास हिँडिरहन्थ्यो, त्यसैले उनले मलाई बोलाएकी थिइन्, पुलिसलाई पनि बोलाएका थियौँ ।’
त्यसपछि अपार्टमेन्ट बाहिर सर्भिलेन्स क्यामेरा राख्न सहयोग गरेको कुँवरले बताएका छन् । क्यामेरा राखेपछि भने ती संदिग्ध व्यक्ति त्यहाँ देखिन छाडेका थिए ।
अघिल्लो साता सोमबार उनको अमेरिकी समयअनुसार बेलुकी साढे ५ बजे गोली हानी हत्या भएको थियो । त्यसपछि प्रहरीले बबी सिंह शाहलाई पक्राउ गरेको थियो ।
मुना सन् २०२२ मा स्नातक तह अध्ययनका लागि अमेरिका गएकी थिइन् । विद्यार्थी भिसामा अमेरिका गएकी उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । स्थानीय एक स्टोरमा समेत उनी काम गर्दै आएकी थिइन् ।

























