
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट १ सय २० किलोग्राम गाँजा बरामद भएको छ ।
अटो टेम्पोमा राखेर भारत कटाउन लागिएको लागुऔषध गाँजा सशस्त्र प्रहरीले शुक्रबार राति ८ः३० बजेतिर बरामद गरेको हो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्काका अनुसार को २ ह ४०४१ नम्बरको अटोमा लोड गरिएको अवस्थामा गाँजा फेला परेको थियो ।
प्लाष्टिकको ३ वटा बोरामा प्याक गरेको गाँजा १ सय २० किलो रहेको उनले बताए । सशस्त्र प्रहरीको बीओपी (बोर्डर आउट पोस्ट) नोचाबाट खटिएको टोलीले अटोलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो ।
त्यस क्रममा गाँजा फेला परेपछि अटो चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का २६ वर्षीय दिनेश राईलाई पक्राउ गरिएको एसपी खड्काले बताए । अटोमा २ जना सवार थिए । चालक पक्राउ परेपनि अर्का व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फरार भएकाको खोजी जारी राखिएको छ । बरामद भएको गाँजा, नियन्त्रणमा लिएको अटो र पक्राउ परेका चालकलाई सशस्त्रले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीको जिम्मा लगाएको छ ।

























