
काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी ३३ वर्ष पुरानो कीर्ते मुद्दामा कारागार चलान भएका छन् ।
आइतबार रुकुम पूर्व जिल्ला अदालतमा हाजिर भएका उनलाई आइतबार नै कारागार चलान गरिएको रुकुम पूर्वका डीएसपी माधव खरेलले जाकारी दिए ।
खरेका अनुसार सांसद केसीलाई कारागार चलान गरेको मुद्दा ३३ वर्ष पुरानो कीर्ते मुद्दा हो ।
श्रीमतीसँगको अंश मुद्दामा कीर्ते गरेको अभियोगमा दोषी ठहर भएका उनलाई एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला भएको थियो ।
साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो । तर केसीले सजाय भुक्तान गरेका थिएनन् । लामो समयदेखि प्रहरीको फरार सूचीमा भए पनि उनी पक्राउ परेका थिएनन् ।
उनी गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

























