
विराटनगर । गत वर्ष नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गरेको देखिएको छ । गत २०८०–०८१ मा देशभर ७ हजार २२३ जनाले आत्महत्या गरेका थिए । यो संख्या दैनिक सरदर २० जना हो ।
विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सो तथ्यांकबारे जानकारी गराइएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालको हकमा गत आर्थिक वर्ष २०८०–०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको बताए ।
नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजजन उमेर समूहका महिलाहरुको मृत्युको पहिलो कारण आत्महत्या रहेको उनले बताए ।
आत्महत्याका धेरै कारणहरुमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल देखिएको उनको भनाई छ । सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने देखिएको उनले बताए ।
विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरु लो एण्ड मिडिल इन्कम देशमा हुने गरेको उनले बताएका छन् ।

























