
विराटनगर । झापामा पूजाको प्रसादी खाँदा एउटा गाउँका अधिकांश बिरामी परेका छन् । अर्जुनधारा नगरपालिका– ९ को खरबन्दी गाउँका अधिकांश बिरामी परेका हुन् ।
स्थानीय रीता निरौलाको घरमा बुधबार पूजा लगाइएको थियो । पूजामा ६० जना भन्दा बढीले प्रसाद खाएका थिए । प्रसाद खाने सबै बिरामी परेको अर्जुनधारा नगरपालिका-९ का वडा अध्यक्ष भीष्म मिश्रले जानकारी दिए ।
स्थानीय विद्या कटवालका अनुसार पूजा घरमा पुगेर प्रसाद खाने धेरै बिरामी छन् । घरमा ल्याएको प्रसादमा अलिक कम समस्या देखिएको छ । ‘पूजा घरमा पुगेर सब्जी र रोटी अचार खाने धेरै बिरामी छन् । घरमा ल्याएको प्रसाद खानेहरुलाई पनि समस्या छ,’ मुलुकी खबरसँग उनले भनिन्,’ गाउँका सबै बिरामी छन् ।’
कटवालका अनुसार पूजामा प्रसाद खाएकाे केही समयपछि सबैलाई वान्ता र झाडापखाला भएको थियो । ज्वरो पनि आएको छ । त्यसपछि राति नै स्थानीय क्लिनिक लगिएकाे थियाे । ‘हिजो राति स्थानीय क्लिनमा आएर स्लाइन चढाएर फर्कियौँ तर, निको भएन,’ उनले भनिन् ,‘ वान्ता, झाडापखाला नरोकिएपछि आज बिहानै आएका छाैं, ज्वरो पनि १०३, १०४ डिग्री छ ।’
पुजाको प्रसादीमा ‘फुड पोइजनिङ’ हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए । बिरामीको स्थानीय दुई क्लिनकमा उपचार भइरहेको उनले जानकारी दिए ।

























