
विराटनगर । भ्रष्टाचार मुद्दामा मोरङको रतुवामाई नगरपालिका – ६ का वडाध्यक्ष तुलाराम लुइँटेललाई विशेष अदालतले दोषी ठहर गरेको छ ।
नागरिकतालगायतका सरकारी कागजात सच्याइ सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ३२ गते दायर गरेको मुद्दामा विशेष अदालतले वडाध्यक्ष लुइँटेललाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका न्यायाधीश टेकेन्द्र कुँवर र रितेन्द्र थापाको संयुक्त इजलासले वडाध्यक्ष लुइँटेललाई भ्रष्टाचार निवारण ऐन २०६९ को दफा ९ र दफा १७ बमोजिम ९ महिना कैद र जरिवाना हुने फैसला गरेको छ ।
गलत लिखत तयार गरेकोमा विशेषले दफा ९ बमोजिम १० हजार रुपैयाँ जरिवाना र ३ महिना कैद तोकेको छ ।त्यस्तै, सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको कसुरमा सोही ऐनको दफा १७ को व्यवस्था बमोजिम थप १ लाख ६० हजार रुपैयाँ जरिवाना र थप ६ महिना कैद सजाय सुनाएको हो ।
वडाध्यक्ष लुइँटेलले २०७५ सालको पहिलो कार्यकालमा श्रीमती भक्तकुमारीको नागरिकता प्रतिलिपिको विवरण किर्ते गरी सामाजिक सुरक्षा भत्ताबापतको रकम वितरण गरेको ठहर विशेष अदालतले गरेको छ ।
रतुवामाई – ६ बस्ने मेघदीप पोखरेल पनि यही मुद्दामा दोषी ठहर भएका छन् । उनले पनि जेठी श्रीमती तुलसादेवीको नागरिकताको प्रथम प्रतिलिपिको फोटोकपीमा जन्ममिति सच्याइ ज्येष्ठ नागरिक भत्ता पाउने लाभग्राहीको सूचीमा नाम समावेश गरेको विशेष अदालतको ठहर छ । वडाध्यक्ष लुइँटेलले निवेदन उपर छानबिन नै नगरी २०७५ साल भदौ १२ गते तुलसादेवीको नाम लाभग्राही सूचीमा प्रविष्ट गराई १ लाख ४४ हजार रुपैयाँ दिलाएका थिए ।
श्रीमतीको उमेर बढाई नागरिकताको प्रतिलिपि लिन सिफारिस गर्ने वडाध्यक्ष लुइँटेल, मेघदीप पोख्रेल र तुलसादेवी तथा तत्कालीन वडा सचिव कल्पना बास्तोला र इलाका प्रशासन कार्यालय मोरङका तत्कालीन नायब सुब्बा रमेश कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतममा मुद्दा दायर गरेको थियो ।
यो मुद्दामा कर्मचारीहरुले भने सफाइ पाएका छन् । लुइँटेल नेकपा एमालेबाट दोस्रो कार्यकालका लागि निर्वाचित वडाध्यक्ष हुन् ।

























