संविधान दिवसमा नछुट्ने भए कैदी

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ आश्विन २, बुधबार १६:४८

काठमाडौं । यसवर्षको संविधान दिवसको अवसरमा सजाय छुट पाएर कैदीहरु नछुट्ने भएका छन् ।

गृह मन्त्रालयले आवश्यक गृहकार्य नपुगेको भन्दै निर्णय नगरेपछि सजायमा छुट पाएर कैदीहरु रिहा हुने प्रक्रिया रोकिएको हो । कारागार व्यवस्थापन विभागले कैदीलाई दिइने छुटसहितको विवरण मन्त्रालयमा पठाएको थियो ।

Advertisement

गृह मन्त्रालयले निर्णय गरिदिएको भए बिहीबार कैदीहरु सजाय छुट पाएर छुट्ने थिए । विभागका सूचना अधिकारी रामबहादुर सार्की संविधान दिवसका अवसरमा कैदी छुट्ने सम्भावना नरहेको बताउँछन् ।

विभागले कैद छुटका लागि यसअघि २ पटकसम्म मन्त्रालयमा सिफारिस गरेको थियो । गत असार ९ गते ६ सय २० जनाको कैद कट्टा गर्ने भन्दै सर्वजनिक सूचना जारी गरिएको थियो । भदौ १७ गतेसमेत ४ सय २० जनाको कैद छुट हुने सूचना जारी गरिएको थियो ।

दुवै सूचनाका आधारमा सजाय छुट दिएर असोज ३ गते (संविधान दिवस)का दिन कैदीहरुलाई रिहा गर्ने तयारी थियो । आवश्यक गृहकार्य नपुगेको भन्दै गृह मन्त्रालयले निर्णय गरेन ।

गत जेठ १५ गतेको गणतन्त्र दिवसका अवसरमा पनि सजाय छुट पाएर कैदीहरु रिहा हुन पाएनन् । सर्वोच्च अदालतको २०८० कात्तिक १६ गतेको फैसलापछि कैद छुट गर्नलाई कैदीविरुद्ध उजुरी आह्वान गर्ने र पीडितको सहमति लिनुपर्ने हुन्छ ।

त्यसअघि उजुरुी आह्वान गर्ने र पीडितको सहमति लिने प्रक्रिया थिएन । व्यक्ति हत्यामा सजाय छुट पाएर रिहा भएका बाँकेका योगराज ढकाल (रिगल) विरुद्धको मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले पीडितको हक सुरक्षित हुने गरी, सहमति तथा मञ्जुरीसमेत लिएर पीडितलाई सामाजिक पुनस्र्थापना र क्षतिपूर्तिसहितको न्याय प्राप्त भएको अवस्था सुनिश्चित गरेर मात्र कैदी रिहा गर्नुपर्ने फैसला गरेको थियो ।

उक्त फैसलापछि सजायमा छुट पाउने कैदीविरुद्ध उजुरी आह्वान गर्नुपर्ने र पीडितको सहमति लिनुपर्ने अवस्था बनेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.