फाइल फाेटाेविराटनगर । शनिबार बिहान खसेकाे पहिराेमा परी धनकुटा र पाँचथरमा ५ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् । २ जना घाइते भएका छन् ।
धनुकटामा पहिरोले पुरिएर आमाछोरीको मृत्यु भएको हो । पाँचथरको फिदिम नगरपालिका -४ मा आमाछोरीकाे मृत्यु भएकाे छ । फिदिम -१ मा १ पुरुषको मृत्यु भएको छ, थप ४ जना बेपत्ता भएकाे कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले बताए ।
पाँचथरको फिदिम नगरपालिका– १ साँगेबोटेमा पहिरो घर पुरिँदा फिदिम नगरपालिका– १ कात्तिके घर भइ फुरुङ्गा हाइड्रो पावरमा काम गर्ने ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको छ । फिदिम- १ बस्ने ५० वर्षीय कृष्ण दास, उनकाे श्रीमती ४० वर्षीया कमला दास, ५५ बर्षीय धनकुमार तुम्बापो, २१ वर्षीया सरस्वता तुम्बापो बेपत्ता भएका छन् । पहिरोमा परी दुई जना घाइते छन् । घाइतेकाे अवस्था सामान्य छ । बेपत्ताकाे खाेजी भइरहेकाे प्रवक्ता दाहालले बताए ।
प्रहरीका अनुसार मृतक र बेपत्ता फुरुङ्गा हाइड्रो पावरमा काम गर्ने कर्मचारी हुन् । उनीहरु स्थानीय राजकुमार नेम्बाङको घर भाडामा लिएर बस्दै आएका थिए । विहान करिब ५ बजे खसेको पहिरोले घरमा रहेको पशुचौपाय पनि पुरेको छ ।
पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले घर पुरिदा २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको छ । प्रहरीका अनुसार फिदिम–१२ घर भएका आमा–छोरी चिसापानीमा डेरा बस्दै आएका थिए ।
धनकुटाको पाख्रीबास नगरपालिका– ५ आज बिहानको करिब ३ बजे खसेको पहिरोले घर पुरिदा स्थानीय ५० वर्षीया रामकुमारी तामाङ र ३२ वर्षीया आशा तामाङको मृत्यु भएको हो । उनीहरु आमा-छोरी रहेको प्रहरीले बताएको छ ।

























