
सुनसरी । जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा बहाव उच्च बनेपछि ब्यारेजका सबै ढोका खुला गरिएको हो ।
पहाडी तथा तराईका जिल्लामा अत्यधिक वर्षा भएसँगै सप्तकोशी नदीको बहाव उच्च बनेको छ । सप्तकोशी नदीको बहाव शनिबार बिहान ९ बजे ४ लाख ४९ हजार ६ सय ८० क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको छ ।
बहाव अझै बढ्ने क्रममा रहेको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार सम्भावित क्षति हुन नदिन ब्यारेज वरपर सतर्कता बढाइएको छ । नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको भण्डारीले बताए ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अननुसार बहाव बढ्ने क्रममा रहेकाका कारण कोशीमा खतराको संकेत देखिन थालेको छ । सप्तकोशी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको जनाएको छ ।
सप्तकोशी नदीको भेल सुनसरी र उदयपुरका केही क्षेत्रमा पस्नसक्ने खतरा बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।

























