
विराटनगर । दुर्घटनामा बालिकाको मृत्यु भएपछि अशान्त बनेको सुनसरीको खनारको अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विराटनगरतर्फ आउँदै गरेको नागरिक यातायातको मे १ ख ४५७४ नम्बरको बसले इटहरी उपमहानगरपालिका–१० रिलाइन्स अगाडि अपरान्ह ४ः३० बजेतिर दुर्घटना गराएको थियो । दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका–१० की १३ वर्षीया सजना यादवको मृत्यु भयो ।
प्रहरीका अनुसार उनी इटहरीको जनता माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययरत थिइन् । घटनास्थलमै मृत्यु भएकी बालिकाको शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेका बेला बालिका साइकलमा थिइन् ।
प्रहरीका अनुसार दुर्घटना गराएर भागेको बसलाई खनार चोकस्थित सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै आक्रोसित भिडले आगो लगाएको थियो । आगजनीबाट बस पूर्णरूपले जलेर ध्वस्त भएको छ ।
दुर्घटनापछि आक्रोसित बनेको भिडले बसमा आगो लगाउन थालेपछि त्यहाँभित्र रहेका यात्रुहरु निस्किएर भागेको प्रहरीले जनाएको छ । चालक विराटनगर महानगरपालिका–१३ का २७ वर्षीय अमित श्रेष्ठ इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा छन् ।
दुर्घटनापछि खनार बजार करिब ६ घण्टा तनावग्रस्त बन्यो । प्रहरीका अनुसार करिब ७ सयको भिडले ढुंगामुडा र आगजनी गर्यो । ढुंगाले लागेर आगो निभाउन पुगेको रामधुनी नगरपालिकाको दमकलको सिसा फुटेको छ ।
अन्य सवारीसाधनमा पनि तोडफोड गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए । उनका अनुसार क्षतिको पूर्ण विवरण आइसकेको छैन ।
स्थितिलाई नियन्त्रणमा लिन लाट्ठी चार्ज, अश्रुग्यास प्रहार र हवाई फायर गर्नु परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । प्रहरीले २० राउण्ड हवाई फायर र ३० सेल अश्रुग्यास प्रहार गरेको छ । ‘माहोल थप भड्किन नदिन सामान्य बल प्रयोग गर्नुपर्ने अवस्था आयो,’ तिवारीले भने ।
उनीसहित सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिना, जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीलगायत घटनास्थलमा पुगेका थिए । घटनास्थल वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
राति साढे १० बजेबाट अवस्था सामान्य भइसकेको र राजमार्गमा सवारीसाधन सञ्चालन हुन थालेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी भण्डारीले जानकारी दिए ।
घटनाको छानबिन गर्नका इन्स्पेक्टर महेन्द्र पराजुलीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले समिति गठनको निर्णय गरेको सुनसरी प्रहरी प्रमुख एसपी तिम्सिनाले बताए ।
छानबिन समितिको प्रतिवेदनका आधारमा थप कारबाही अघि बढ्ने र घटनाको अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए । घटनास्थल वरपरको सीसी क्यामेरा फुटेजको पनि प्रहरीले अध्ययन गरिरहेको छ । घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याइने तिम्सिनाको भनाइ छ ।
२ एसपीसहित २१ प्रहरी घाइते
भिडले ढुंगामुडा गर्दा एसपी तिम्सिना, सशस्त्रका एसपी समेनन्द बज्राचार्य, डीएसपीहरु तिमल्सिना र भण्डारीसहित २१ प्रहरी घाइते भएका छन् । अन्य घाइतेहरुमा इन्स्पेक्टर सागर तिमल्सिना, असइहरु आनन्द पोखरेल, भूपराज पोखरेल, वरिष्ठ हवल्दार समीर सापकोटा, अयोधी यादव, हवल्दार गोमा राउत, श्यामनारायण यादव, कल्याणी आचार्य घाइते भएका छन् ।
त्यसैगरी, सहायक हवल्दार राकेश न्यौपाने, दीपक राई, लोकनाथ धमला, अशोक राई, जवान गणेश तिमल्सिना, सुमन खड्का, सन्दीपकुमार मोक्तान र प्रकाश दाहाल घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि सुनसरीको खनार तनावग्रस्त : बसमा आगजनी, हवाई फायर र अश्रुग्यास प्रहार (भिडियाे)

























