
काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएपछि फरार रहेकी अमला रोक्कालाई प्रहरीले पक्राउ गरेको छ । उनी ६१ किलो सुन तस्करीमा मुछिएकी थिइन् ।
रोक्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता एसपी युवराज खड्काले रोक्कालाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको जानकारी दिए ।
रोक्का सुन तस्करीमै हाल पुर्पक्षको लागि थुनामा रहेका बेल्जियन नागरिक दावा छिरिङकी श्रीमती हुन्। माओवादी नेताहरु वर्षमान पुन, नन्दकिशोर पुनलगायतसँग निटक सम्बन्ध बनाएर रोक्काले सुन तस्करी गर्ने गरेको समाचारहरु यसअघि प्रकाशन भएका थिए ।
तर, माओवादी नेताहरुले त्यो कुरा अस्वीकार गर्दै आएका छन् । काठमाडौं ठमेलको भियना होटल सञ्चालन गर्दै आएकी रोक्कासँग पारिवारिकबाहेक अरु कुनै नाता नरहेको नेताहरुको दाबी थियो ।
सुन तस्करीको छानबिनका क्रममा होटलमा बारम्बार छापा हानिएको थियो । २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक–सुमा सुन रहेको सूचनापछि राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो।
भन्सार जाँच पास भएर छुटिसकेको ब्रेक–सु नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउँदा सुन तस्करी पत्ता लागेको थियो । दिलिप भुजेलको नाममा रहेको रेडी ट्रेड प्रा.लिले मगाएको उक्त ब्रेक–सुभित्र ६० किलो ७ सय १६ ग्राम बरामद भएको थियो ।
विभिन्न नक्कली कम्पनी खडा गरी चीनबाट विभिन्न सामानभित्र सुन राखेर तस्करी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । सुरूमा यसको अनुसन्धान विभागले गरेको थियो । पछि सीआईबीले अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो।
दावालाई २०८० साउन १४ गते पक्राउ परे पनि उनकी श्रीमती अमला रोक्का हालसम्म फरार रहेकी थिइन् । उनलाई प्रहरीले खोजी गरिरहेको थियो ।

























