
विराटनगर । विराटनगरबाट ‘नक्कली प्रहरी’ पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१२ का २५ वर्षीय धनकुमार थारुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार विराटनगर–१६ स्थित रानी–जोगवनी सडक खण्डबाट थारुलाई पक्राउ गरिएको छ । थारुले शारीरिक रूपमा अपांगता भएका व्यक्तिलगायत सर्वसाधारणसँग पैसा असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको चुँडालले बताइन् ।
‘भारतको जोगवनीबाट घरयासी सामान लिएर आउनेहरुलाई दुःख दिँदै र धम्क्याउँदै पैसा लिने गरेको पाइयो,’ उनले भनिन्, ‘प्रहरी हुँ भन्दै डर त्रास देखाउने गरेको खुलेको छ ।’ ‘म प्रहरी हो’ भनेर पैसा असुल्ने गरेको पाइएपछि थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याइएको जानकारी चुँडालले दिइन् ।
उनका अनुसार थारुविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ । उनले विगतदेखि नै डर र त्रास देखाएर सर्वसाधारणलाई दुःख दिने र पैसा असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

























