
काठमाडौं । व्यक्ती हत्याको आरोपमा प्रहरीले तनहुँको वृद्धाआश्रमबाट एक जनालाई पक्राउ गरेको छ । तनहुँको देवघाटमा भएको कुटपिटपछि हत्या प्रकरणमा फरार रहेका ४६ वर्षीय लोकबहादुर महतलाई प्रहरीले चितवनको वृद्धाश्रमबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार असार ५ गते बिहान करिब ५ बजे देवघाट गाउँपालिका–५ बद्रिमुक्ती टोल निवासी ३२ वर्षीय प्रकाश पौडेल हत्या भएको थियो ।
मादक पदार्थ सेवनपछि भएको विवादमा कुटपिट गरी हत्या गरेको आरोप प्रहरीले सोही दिन पाल्पाको तानसेन नगरपालिका–८ नयाँपाटीका २८ वर्षीय बुद्ध सारु मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ हटियाका ४२ वर्षीय राम लामालाई पक्राउ गरेको थियो ।
घटनापछि फरार रहेका महोत्तरी बर्दिवास नगरपालिका–१ का जोगी भनिने ४६ वर्षीय लोकबहादुर महतलाई शनिबार बिहान चितवनको भरतपुर महानगरपालिका–१ स्थित रोटरी क्लब चितवनले सञ्चालन गरेको वृद्धाश्रममा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय देवघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

























