
काठमाडौं । जनमत पार्टीका प्रदेश सांसद (प्रदेशसभा सदस्य)विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुरको मुद्दामा जेठ १६ गते पक्राउ पुर्जी जारी भएको हो । उनको घर बर्दियाको गुलरिया नगरपालिका–५ हो ।
प्रहरीको माग अनुसार उनीविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएकाले थप कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
आशा कुमारी चौहानले बैंकिङ कसुरमा दिएको जाहेरीका आधारमा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । २ लाख ७५ हजार रुपैयाँ सापटी लगेको र लामो समयसम्म नतिरेपछि पटक–पटक माग्दा चेक दिएको जाहेरीमा उल्लेख छ । तर, खातामा रकम नभएपछि चेक बाउन्स भएको उजुरीमा खुलाइएको छ ।
रायमाझीले एभरेष्ट बैंकको चेकमा २ लाख ७५ हजार रुपैयाँ उल्लेख गरेर दिए पनि रकम पर्याप्त नभएको भन्दै चेक बाउन्स भएको थियो । रायमाझीसँग भने सम्पर्क हुन सकेन । उनको मोबाइल अफ छ ।
जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले यो रायमाझीको व्यक्तिगत लेनदेनको विषय भएको बताए । पार्टीमा यसबारे कुनै औपचारिक छलफल नभएको उनको भनाइ छ । तर, पक्राउ पुर्जी जारी भएको जानकारीमा आएको यादवले बताए ।
रायमाझी समानुपातिक सांसद हुन् । यसअघि जसपाबाट सांसद बनेकी उनी एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलका पालामा भौतिक पूर्वाधार विकास राज्यमन्त्री समेत भइन् । माओवादी केन्द्रका मुख्यमन्त्री कुलप्रसाद केसीको मन्त्रिपरिषद्मा उनी कृषिमन्त्री बनिन् ।

























