
काठमाडौं । भ्रष्टाचार मुद्दामा मधेश प्रदेश प्रेस काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्याय दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उपाध्यायलाई ६ महिना कैद सजाय र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो ।
७ वैशाखमा अध्यक्ष नियुक्त भएका उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ वैशाखमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसपछि उनी निलम्बित भएका थिए ।
अख्तियारले बाराको पचरौता नगरपालिकाले सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमिमता गरेको भन्दै मुद्दा अभियोजन गरेको थियो ।
अख्तियारले पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल आसिम मियाँ अन्सारीविरुद्ध पनि मुद्दा दायर गरेको थियो । विशेषले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई पनि ६ महिना कैद सजाय र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना गराउने फैसला गरेको छ ।

























