
अछाम । व्यक्तिको हत्या गरेर फरार भएका २ जनालाई प्रहरीले ४ वर्षपछि पक्राउ गरेको छ ।
अछामको रामारोशन गाउँपालिका–६ का गगन साउँदको २०७८ साल कात्तिक २१ गते हत्या भएको थियो । त्यतिबेला रम्तडादेखि टुडिसैन जाने बाटोबीचको सालघारीमा साउँदको हत्या भएको हो ।
उनको हत्यापछि भागिरहेका २ जनालाई पक्राउ गरिएको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए । उनका अनुसार पक्राउ पर्नेमा रामारोशन–६ का ३६ वर्षीय झपड साउँद र ३४ वर्षीय कुले साउँद रहेका छन् ।
प्रहरी चौकी सन्तडाबाट खटिएको टोलीले दुवै जनालाई आइतबार साँझ ६ बजेतिर रामारोशन–६ भाटाकाटियाबाट पक्राउ गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको डीएसपी भण्डारीको भनाइ छ ।

























