
काठमाडौं । जबरजस्ती करणी मुद्दामा सफाइ पाएका प्रतिवादीले प्रहरी निरीक्षकको जन्मदिन मनाइदिएको घटना सार्वजनिक भएपछि छानबिन सुरु भएको छ । प्रहरीको आचरण विपरितको कार्य देखिएपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको हो ।
डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार, छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको नेतृत्वमा ३ सदस्यीय टोली बनेको छ ।
बलात्कारको मुद्दामा सफाइ पाएको दोस्रो दिनमा राजविराज नगरपालिका–६ का आकाश आदर्शले अनुसन्धान अधिकृत तोकिएका प्रहरी निरीक्षक मनिष श्रेष्ठको जन्मदिन पार्टी डीएसपी जितेन्द्रकुमार बस्नेतको कोठामा मनाएका थिए ।
आर्थिक विषयमा छानबिनका लागि भन्दै सप्तरीका एसपी ढकेन्द्र खतिवडा यसअघि नै जिम्मेवारीबाट हटाएपछि बस्नेतले निमित्तको जिम्मेवारी पाएका थिए । उनी पनि विवादमा तानिएका छन् ।
प्रहरी अनुसन्धानका आधारमा सरकारी वकिलले २० कात्तिक २०८१ मा अदालतमा मुद्दा दायर गरेको थियो । ४ जेठमा जिल्ला न्यायाधीश रोमनाथ अधिकारीको इजलासले सफाइ दिएको थियो । त्यसको दुई दिनपछि अनुसन्धान अधिकृतसँगै उनी ‘बर्थ डे’ पार्टी मनाइरहेको तस्वीर सार्वजनिक भएको थियो ।

























