
पर्सा । पर्साबाट करिब सवा ३ क्वीन्टल चरेस लोड गरिएको ट्रकलाई प्रहरीले बुधबार राति नियन्त्रणमा लिएको छ । चालक पक्राउ परेका छन् ।
वीरगन्ज महानगरपालिका–२१ परवानीपुरबाट ३ सय १७ किलो ५ सय ग्राम लागुऔषध चरेस बरामद भएको प्रहरीले जनाएको हो । मकवानपुरबाट वीरगन्ज आइरहेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो ।
त्यस क्रममा ठूलो परिमाणमा चरेस बरामद भएको हो । त्यसलगत्तै ट्रक चालक बुद्धिबहादुर स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको छ । ट्रकको पछाडिको ढालामा चरेस फेला परेको र पक्राउ परेका चालकको साथबाट १ लाख ९२ हजार रूपैयाँसमेत बरामद भएको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए ।
पक्राउ परेका चालकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस विषयमा पत्रकार सम्मेलन गरेर आधिकारिक जानकारी गराइने छ ।

























