
विराटनगर । धरानमा एक युवकमाथि तीन जनाको समूहले आक्रमण गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
धरान उपमहानगरपालिका– १० मा हतियारसहित मोटरसाइकलमा आएका तीन जना युवाले एक जनालाई लखेटी लखेटी आक्रमण गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।
भिडिओमा एक युवक भागिरहेको अवस्थामा उनको पछाडि तीन जना चढेको मोटरसाइकल धारिलो हतियार नचाउँदै गरेको देखिन्छ । भागिरहेका ती युवक सोही बाटो फर्किँदा उनले लगाएको सेतो टिसर्टको पछाडिपट्टिको भागमा रातो देखिन्छ । मुखबाट पनि रगत बगिरहेको देखिन्छ । त्यहाँ पनि उनीमाथि हेलमेट प्रहार हुन्छ । त्यसपछि तीनै जना मोटरसाइकलमा चढेर फरार हुन्छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार घटना असार १२ गते साँझको हो । उनले आक्रमण गर्ने युवकको खोजी भइरहेको बताए ।
आक्रमण गर्ने र आक्रमणमा पर्ने चिनजानकै युवकहरू हुन् । घाइते भएका युवक उपचारपश्चात डिस्चार्ज भइसकेका छन् ।

























