
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले ज्यान मुद्दामा सफाइ पाएका नेपाली कांग्रेसका नेता आफताब आलमविरुद्ध पुनः सर्वोच्च अदालतमा पुनरावेदन गर्न माग गर्दै आज महान्यायाधिवक्तालाई औपचारिक पत्र पठाएकी छन् ।
श्रेष्ठले पठाएको पत्रमा उल्लेख गरिएअनुसार, उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासबाट अभियुक्तहरूलाई सफाइ दिनु पीडित र आमनागरिकको विश्वासमा चोट पुगेको छ। उनले भनिन्, ‘पीडित तथा सर्वसाधारण यो फैसलाबाट मर्माहत र आक्रोशित छन्।’
पत्रमा उनले तत्कालीन समयमा राजनीतिक पहुँचको कारणले मुद्दा नचलाइएको तर पछि सर्वोच्च अदालतको आदेशपछि मात्रै मुद्दा अगाडि बढेको स्मरण गराउँदै हालको फैसलाले न्याय प्रक्रियामा गम्भीर प्रश्न उठाएको जनाएकी छन्।
‘राजनीतिक व्यक्तिको संलग्नता रहेको अपराध भएको कारण तत्कालीन महान्यायाधिवक्ताले मुद्दा नचल्ने निर्णय गरेका थिए। तर, सर्वोच्च अदालतको आदेशपछि घटना भएको एक दशकपछि मात्रै मुद्दा चलाइएको थियो। अहिले भने उच्च अदालतबाट अभियुक्तलाई सफाइ दिने अनपेक्षित फैसला आएको हुँदा त्यसविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरी मुद्दाको उचित प्रतिरक्षा गर्न ध्यानाकर्षण गराउन चाहन्छु,’ श्रेष्ठको पत्रमा उल्लेख छ।
गत जेठ १४ गते उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आफताब आलमसहित ४ जनालाई सफाइ दिएको थियो। उक्त इजलासमा न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जन रहेका थिए।
२०६४ सालमा रौतहटमा भएको इँटा भट्टामा जिउँदै मानिस हालेर हत्या गरिएको भनिएको घटनामा आलमसहित अन्यमाथि ज्यानसम्बन्धी मुद्दा चलाइएको थियो। लामो समय राजनीतिक संरक्षणमा रहेका आलम २०७६ मा पक्राउ परेका थिए।
सांसद श्रेष्ठको यो पहललाई न्यायको खोजीमा रहेको आवाजको प्रतिबिम्बका रूपमा हेरिएको छ । मुद्दामा पुनरावेदन हुने या नहुने विषयमा भने महान्यायाधिवक्ताको निर्णय पर्खनुपर्ने हुन्छ ।

























