
विराटनगर । मोरङको उर्लाबारीबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित प्रहरीले आइतबार भारतीय महिला र पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार किसनगन्जका मुनासिर अली र जन्हेरा खातुन रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रञ्जन बराल र लागुऔषध नियन्त्रण ब्युरो काँकड्भिट्टाबाट सई कुमार रोमेश लामिछाने नेतृत्वको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उर्लाबारी नगरपालिका–७ पूर्व बस स्टेण्डबाट पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार पक्राउ परेकाको साथबाट १ सय ग्राम खैरो हेरोइन बरामद भएको छ ।
पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । उनीहरुमाथि इन्स्पेक्टर रञ्जन बराल नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

























