
धनगढी । धारिलो हतियार प्रहार गरेर ८० वर्षीय वृद्धाको हत्या गरिएको छ । हत्या गरेको अवस्थामा २ तले घरको कोठामा शव फेला परेको हो ।
कैलालीको जानकी गाउँपालिका–९ अमरावतीमा ८० वर्षीया मातादेवी शाहीको हत्या भएको कैलाली प्रहरीका प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिए । मंगलबार बिहान ८ः१५ बजेतिर शव फेला परेको उनले बताए ।
प्रहरीका अनुसार घरमा वृद्धा एक्लै बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुत्ने कोठाको खटियामा शव फेला परेपछि गम्भीर ढंगले अनुसन्धान सुरु गरिएको डीएसपी सिंहले बताए ।
वृद्धाको छातीमा धारिलो हतियार प्रहार गरिएको तथा घाँटीमा समेत चोट देखिएको प्रहरीले जनाएको छ । प्रहरीले तालिमप्राप्त कुकुरको प्रयोग गरेर घटनाको अनुसन्धान गरिरहेको छ ।
हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । यद्यपि, प्रहरीले खोजी तीव्र पारेको छ । शवलाई पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

























