
विराटनगर । लामो समयदेखि फरार रहेका कुख्यात अपराधी पप्पु सिंह भनिने पप्पु यादव सुनसरीबाट पक्राउ परेका छन् ।
सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–७ घर भएका २५ वर्षीय यादवलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार हिँड्दै गरेको अवस्थामा फेला पारेर यादवलाई इनरुवा नगरपालिका–३ बाट पक्राउ गरिएको हो ।
यादव कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी हुन् । उनले २४ वर्षभन्दा बढी कैद सजाय भुक्तान गर्नुपर्ने छ । जिल्ला अदालत सुनसरीले २०८१ साल भदौ २५ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै यादवलाई २४ वर्ष ८ महिना १५ दिन कैद सजाय हुने फैसला सुनाएको थियो ।
तर, सजाय भुक्तान नगरिकन उनी भागिरहेका थिए । यादवलाई पक्राउ गरेर प्रहरीले सुनसरी अदालतमा बुझाएको छ । अदालतले सजाय भुक्तानका लागि मंगलबार नै कारागार चलान गरेको डीएसपी खतिवडाले बताए ।

























