
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले देशको वर्तमान आर्थिक अवस्था लगानीमैत्री रहेको बताएका छन् । उनले बैंक तथा वित्तीय प्रणालीमा प्रशस्त तरलता रहेको भन्दै अब लगानीका लागि उपयुक्त समय आएको उल्लेख गरे ।
आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि–मोनिटरी पोलिसी डिस्कसन’ कार्यक्रममा बोल्दै गभर्नर पौडेलले यतिबेला बैंकहरूमा निक्षेपको मात्रा पर्याप्त रहेको र विदेशी मुद्राको सञ्चिति पनि उच्च रहेको बताए । ‘अब लगानी गर्नका लागि आवश्यक स्रोत अभाव छैन । स्थायीत्व र सन्तुलनसहितको विकासका लागि अब मौकाको समय हो,’ उनले भने ।
उनले राष्ट्र बैंकसँग बैंकहरूले राखेको ५ खर्ब २० अर्ब रुपैयाँ जति रकम थन्किएको बताउँदै त्यस्तो ठूलो पूँजीलाई गतिशील बनाउन अब मौद्रिक र वित्त नीतिबीच गहिरो समन्वय आवश्यक रहेको उल्लेख गरे। ऊर्जामा जस्तै लगानीका अन्य क्षेत्रको पहिचान गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।
गभर्नर पौडेलका अनुसार अबको नीति समावेशी र दूरगामी दृष्टिकोणमा केन्द्रित हुनेछ । ‘बैंक तथा वित्तीय क्षेत्रको नियमन अब माइक्रो इकोनोमिक दृष्टिकोणबाट हेर्नुपर्छ,’ उनले भने ।
ग्रामीण क्षेत्र अझै पनि पर्याप्त वित्तीय पहुँचबाट टाढा रहेको स्वीकार गर्दै उनले आगामी मौद्रिक नीतिले त्यो खालको गुनासोलाई सम्बोधन गर्ने बताए । ‘हामी जस क्षेत्रमा ऋण जानुपर्छ भन्ने चाहन्छौं । ती ठाउँमा अझै नपुगेको महसुस छ । यो गुनासो जायज हो । त्यसलाई सम्बोधन गर्ने खालको नीति आउँदैछ,’ उनले प्रष्ट पारे ।
गभर्नर पौडेलले सधैं दिगो र समावेशी विकास राष्ट्र बैंकको प्राथमिकतामा रहेको बताए । आगामी मौद्रिक नीति सबै क्षेत्रलाई समेट्ने, समावेशी र समानुपातिक विकास सुनिश्चित गर्ने दिशामा केन्द्रित हुने उनको भनाइ छ ।

























