
विराटनगर । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले ‘अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७’ को व्यवस्थाका आधारमा कृषकलाई अनुदानमा मलखाद उपलब्ध गराउँदै आएको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले आकस्मिक, शून्य र विशेष समयमा उठाएको जिज्ञासाको जवाफ दिँदै हाल युरिया मलको खरिद मूल्य प्रतिकिलो ८२ रुपैयाँ र भन्सार बिन्दुको बिक्री मूल्य प्रतिकिलो रु १४ रुपैयाँ रहेको बताए ।
उनले भने, ‘डिएपीको खरिद मूल्य प्रतिकिलो रु १२१ र भन्सार बिन्दुको बिक्री मूल्य प्रतिकिलो रु ४३ र पोटासको खरिद मूल्य प्रतिकिलो रु ६४ र भन्सार बिन्दुको बिक्री मूल्य प्रतिकिलो रु ३१ रहेको छ, यसरी वर्तमानमा युरिया, डिएपी र पोटास मलमा प्रतिकिलो अनुदान क्रमशः ५८, ७८ र ३३ रुपैयाँ रहेको छ । यसबमोजिम औसतमा मलमा करिब ६६ प्रतिशत अनुदान रहेको अवस्था छ ।’
मन्त्री अधिकारीले अनुदानमा उपलब्ध गराइने मलबाहेक पनि अनुदान नभएका अन्य मलखाद पनि कृषकले खुला बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको उल्लेख गर्दै सीमावर्ती क्षेत्रका कतिपय कृषकले अनौपचारिक रूपमा सानो परिमाणमा सीमापारी भारतीय बजारबाट मल ल्याई प्रयोग गर्ने गरेको जानकारी गराए। कतिपय अवस्थामा सिफारिसअनुसार पूरैमात्रामा अनुदानको मल उपलब्ध नभए पनि खुला बजार र अन्य माध्यमबाट किनेर पनि कृषकले मल प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

























