
विराटनगर । भोजपुर उद्योग वाणिज्य संघको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले साधारण सभाको उद्घाटन गर्दै उद्योगी, व्यापारी र व्यवसायीहरूको समस्या तथा चुनौतीहरूको समाधान गर्न सधैँ महासंघ साथमा रहेको बताए ।
उनले निजी क्षेत्रले गरेको लगानी सुनिश्चितता तथा दिगोपना, सुरक्षा एवं निरन्तरता दिँदै संरक्षण एवं प्रवर्द्धनका क्षेत्रमा महासंघले अभिभावकीय भूमिका निर्वाह गर्दै आएको बताए ।
भोजपुरमा उत्पादन हुने खुकुरीलगायत सामानको विकास तथा ब्रान्डिङ गर्न जरुरी रहेको उनले उल्लेख गरे ।
भोजपुर आफ्नो जन्मस्थल भएको उल्लेख गर्दै अध्यक्ष राउतले ट्याम्केडाँडा, साल्पापोखरी खुकुरीलगायत विभिन्न क्षेत्रमा प्रख्यात रहेकाले जिल्लालाई विश्वसामु चिनाउन उद्योग वाणिज्य संघको भूमिका महत्त्वपूर्ण हुने प्रस्ट्याए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले राज्यको तीन खम्बे अर्थ नीति अनुसार निजी क्षेत्रको प्रतिनिधित्व गर्ने वाणिज्य संघलाई सरकारले सारथिको रूपमा लिएर अगाडि बढ्न आग्रह गरे ।
भोजपुरी उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण मोक्तानको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

























