बजेटको त्रुटि छानबिन गर्न उपसभामुखको संयोजकत्वमा १४ सदस्यीय समिति

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २८, शनिबार २०:२४

जनकपुरधाम । मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८२–०८३ को बजेटमा देखिएको गम्भीर त्रुटिबारे छानबिन गर्न उपसभामुख बविता राउत इसरको संयोजकत्वमा १४ सदस्यीय समिति पुनर्गठन गरिएको छ ।

प्रदेशसभाको शनिबार बसेको बैठकमा सभामुख रामचन्द्र मण्डलले उक्त जानकारी दिएका हुन् । समिति पुनर्गठनपछि विपक्षी दलले प्रदेशसभामा लगातार गरिरहेको अवरोध हटेको छ । सभामुख मण्डलले अवरोध हटेको घोषणा गरे ।

पुनर्गठित छानबिन समितिमा सत्ता पक्षबाट नेपाली कांग्रेसका सांसद मोहम्मद समिम, जंगीलाल राय, नागेन्द्र साह, नेकपा (एमाले)की सारदा देवी थापा, जनमत पार्टीबाट चन्दन सिंह र सम्भु साह र राष्ट्रिय लोकतान्त्रिक पार्टी (रासपा)बाट रमिता प्रधान सदस्य छन्।

त्यसैगरी, विपक्षी दलबाट जसपा नेपालका रामअशिष यादव, नेकपा (एकीकृत समाजवादी)का कनिष पटेल, नेकपा (माओवादी केन्द्र)का जवाहरलाल कुशवाहा, नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी, राप्रपा नेपालकी कञ्चन विच्छा र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह समितिमा छन्।

यसअघि बिहीबार सभामुख मण्डलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाइएको थियो । तर, समितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई राखिएको भन्दै विपक्षी दलहरूले अस्वीकार गर्दै सदन अवरुद्ध पारेका थिए ।

विपक्षीको निरन्तर विरोधपछि सभामुख मण्डलले शनिबार कार्यदलको संयोजक पदबाट राजीनामा दिएका थिए । त्यसपछि बसेको सर्वदलीय बैठकमा सहमति जुटाउँदै उपसभामुखको संयोजकत्वमा समिति पुनर्गठन गरिएको हो ।

नयाँ समिति गठन भएसँगै केही समयका लागि स्थगित भएको प्रदेशसभा बैठक पुनः सञ्चालनमा आएको छ। सभामुख मण्डलले पहिलेको बैठकमा ‘कार्यदलमा मन्त्री भए पनि सरकार अल्पमतमा रहन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

तर, उक्त भनाइप्रति पूर्वसभामुख तथा जसपा संसदीय दलका नेता सरोजकुमार यादवले आपत्ति जनाए । उनले सभामुख तटस्थ भूमिकामा रहनुपर्ने संवैधानिक मर्यादाको उल्लंघन भएको टिप्पणी गर्दै भने, ‘सभामुखकै संयोजकत्वमा सर्वदलीय सहमतिमा कार्यदल बनेको थियो। तर, पछि मन्त्री रहनु नहुने भन्ने सवाल उठेपछि अल्पमत–बहुमतको कुरा गर्नु गलत हो।’

नवगठित छानबिन समितिले अब मधेश प्रदेश सरकारको बजेट निर्माण र स्वीकृतिपछि देखिएको प्रक्रियागत तथा वस्तुगत त्रुटिहरूको अध्ययन गर्नेछ। समितिले प्रतिवेदन पेस गरेपछि मात्त्रै बजेटमाथिको छलफल अघि बढ्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.