
काठमाडौं । नेपालमा नयाँ आर्थिक वर्ष २०८२–०८३ आज (बिहीबार)देखि औपचारिक रूपमा सुरु भएको छ । हरेक वर्ष साउन १ गतेबाट आर्थिक वर्ष सुरु हुन्छ ।
आर्थिक वर्षसँगै संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका कार्यालयहरूमा नयाँ बजेट कार्यान्वयन प्रारम्भ भएको छ । अर्थमन्त्रीले वार्षिक बजेट प्रस्तुत गरेसँगै चालु आर्थिक वर्षका लागि विनियोजन भएका कार्यक्रम र योजनाहरू आजदेखि कार्यान्वयनमा प्रवेश गरेका छन् ।
नयाँ आर्थिक वर्ष प्रारम्भसँगै मुलुकका सबै सरकारी कार्यालय, परियोजना र निकायमा चालु खर्च तथा पुँजीगत खर्चका प्रक्रिया अघि बढ्नेछन् । मन्त्रालय, निकाय तथा तीनै तहका सरकारहरूले स्वीकृत बजेट अनुसार आजदेखि खर्च गर्न सक्नेछन् ।
यस वर्ष समावेश अधिकांश योजना, कार्यक्रम र परियोजनाहरूको लागि आवश्यक पर्ने रकममध्ये प्रारम्भिक किस्ता छुट्याउने कार्य आजैदेखि सुरु भएको छ । नयाँ वर्षको सुरुवातसँगै राजस्व संकलन, अनुदान, अनुदानको विनियोजन, विकास आयोजनाको टेण्डर प्रक्रिया, सामाजिक सुरक्षा भत्ता वितरणलगायतका सेवा पुनः नियमित हुनेछन् ।
विशेष गरी साउन महिनाको सुरुवातमा कर्मचारी सरुवा, संगठन संरचना निर्माण, वार्षिक कार्ययोजना निर्धारण, कार्यक्रम कार्यान्वयनका लागि कार्यादेश जारी गर्ने प्रक्रिया देखिने गर्छ । सरकारले आर्थिक वर्ष २०८२–८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ ।
बजेटमार्फत पूर्वाधार, कृषि, उद्योग, रोजगारी, शिक्षा, स्वास्थ्य, संघीयता कार्यान्वयन, सूचना प्रविधिसहितलाई विशेष प्राथमिकता दिइएको छ । नयाँ आर्थिक वर्षसँगै धेरै कर्मचारीको सरुवा र नियुक्ति प्रक्रिया तीव्र हुने, नयाँ कर संरचनाहरू लागू हुने, पुराना कार्यक्रमको समीक्षा र नयाँ योजनाको कार्यान्वयन तीव्र रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।
नयाँ आर्थिक वर्ष सुरु भए पनि विगतका वर्षहरूमा देखिएको बजेट कार्यान्वयनको ढिलासुस्ती, पुँजीगत खर्चमा कमजोरी, योजनाको दोहोरोपन, भ्रष्टाचार र कामको पारदर्शितामा प्रश्न उठ्ने अवस्थाले यस वर्ष दोहोरिन नदिन सबै सरोकारवाला निकायले विशेष सतर्कता अपनाउने अपेक्षा गरिएको छ ।

























