
विराटनगर । मोरङबाट १ वर्षको अवधिमा नेपाल प्रहरीले साढे ५ करोड रूपैयाँभन्दा बढीको तस्करीका सामान बरामद गरेको छ ।
प्रहरीले आर्थिक वर्ष २०८१–०८२ मा ५ करोड ५६ लाख ७० हजार २ सय ९७ रूपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको हो । प्रहरीले अघिल्लो वर्षको तुलनामा भन्सार छली गरिएका सामान पाँचगुना बढी बरामद गरेको छ । आर्थिक वर्ष २०८०–०८१ मा प्रहरीले १ करोड ४४ लाख २८ हजार ४ सय ४४ बराबरको अवैध सामान बरामद गरेको थियो ।
नियन्त्रणमा लिइएका सामान प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि भन्सार वा राजस्व अनुसन्धान कार्यालयमा बुझाउने गरेको छ । २०८१–०८२ मा सबैभन्दा बढी असोज महिनामा १ करोड ६७ लाख ५३ हजार ५ सय ७६ रूपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ ।
विशेष गरेर चाडपर्वका बेला नेपाल–भारत सीमा क्षेत्रबाट अत्यधिक तस्करी हुने गरेको छ । असोज ठूला चाडपर्वको समय भएको र उक्त महिनामा सबैभन्दा बढी सामान बरामद गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
उनका अनुसार साउनमा १६ लाख ३० हजार ४ सय ४५, भदौमा ४२ लाख ५१ हजार ४ सय ६०, कात्तिकमा ३७ लाख २७ हजार ६ सय ९२, मंसिरमा ३६ लाख ५६ हजार ८ सय ५९, पुसमा ३१ लख ३७ हजार ७ सय ३४ र माघमा ३१ लाख ८५ हजार ४ सय १३ रूपैयाँ बराबरको सामान बरामद भएको छ ।
त्यस्तै, फागुनमा ६५ लाख ३९ हजार ६ सय ४६, चैतमा २२ लाख २१ हजार ७ सय, वैशाखामा ३४ लाख १ हजार ९ सय ८०, जेठमा ३१ लाख २५ हजार ९ सय ८२ र असारमा ४० लाख ३७ हजार ८ सय १० रूपैयाँ बराबरको सामान बरामद गरिएको जानकारी चुँडालले दिइन् । उनले भनिन्, ‘नेपाल–भारत खुला सिमानाको फाइदा उठाउँदै हुने गरेको अवैध ओसारपसार (तस्करी) लामो समयदेखि गम्भीर चुनौतीको विषय बनिरहेको छ ।’
तर, पछिल्लो समय मोरङ प्रहरीले तस्करी नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त गरेको तथ्यांकले पुष्टि गर्छ । तस्करी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय मोरङले इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा विशेष टोली परिचालन गरेको छ । त्योबाहेक प्रहरीका विभिन्न युनिटले विशेष भूमिका निर्वाह गरिरहेका छन् ।
सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकायको समन्वय, सूचनाका आधारमा निगरानी र नियमित चेकजाँचको प्रक्रियामा तीव्रता दिएपछि भन्सार छली एवं चोरी तस्करी नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । मोरङ भारतसँग प्रत्यक्ष खुला सीमा रहेको जिल्ला हो । भारतसँगको व्यापारिक नाकासमेत रहेकाले दैनिक धेरै संख्यामा मानिसको ओहोरदोहोर हुन्छ । ठूलो परिमाणमा मालसामानको ओसारपसार गरिन्छ ।
यसकै आडमा भारतबाट नेपालतिर लत्ताकपडा, किराना सामान, रजनीगन्धासमेतका गुट्खाजन्य वस्तु, गाडीका पार्टपुर्जा, औषधि, खाद्यान्नलगायतका वस्तुको तस्करी हुने गरेको छ । नेपालबाट भारततिर हरियो मटर, स्याउ, सुपारी, लसुन, मदिरालगायत तस्करी हुने गरेको छ ।
यस्तो गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्दै तस्करी रोक्ने अभियान तीव्र पारेर भन्सार कार्यालय, अन्य सुरक्षा निकाय, सादा पोसाकका प्रहरी र स्थानीय प्रहरी इकाईमार्फत सीमा क्षेत्रमा निगरानी बढाइएको एसपी चिमरियाको भनाइ छ । मोरङका रानी, बखरी, कर्सिया, रंगेली, भुटाहा, सिक्टीलगायतका १ दर्जन नाका तस्करीका लागि चर्चित छन् ।
तस्करीका लागि प्रयोग हुने मुख्य नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको जानकारी चिमरियाले दिए । विशेष गरी रातको समयमा तथा धार्मिक मेलाका अवसरमा सीमामा चहलपहल बढी हुने भएकाले त्यस्ता अवसरलाई तस्करहरूले दुरुपयोग गर्दै आएको प्रहरी स्रोतको भनाइ छ ।
प्रहरीले हाल सूचना संकलनदेखि लिएर नाकामा विशेष चेकिङसम्मका उपाय अवलम्बन गर्न थालेपछि तस्करीका घटना न्यूनीकरण हुन थालेको दाबी गरिएको छ । ‘हामीले नाकामा कडाइ गरिरहेका छौं । विशेष गरी सीमाका साना व्यापारीहरू र ढुवानीमा संलग्न व्यक्तिहरूमाथि निगरानी राखिएको छ,’ एसपी चिमरियाले भने, ‘विगतमा कानुनी कमजोरी, स्रोतको अभाव र तस्करहरूको सञ्जाल बलियो हुँदा नियन्त्रणमा समस्या थियो । तर, अहिले समन्वयात्मक प्रयासले परिणाम दिन थालेको छ ।’
उनका अनुसार भारतबाट नेपालमा आउने अवैध औषधि, खाद्य सामग्री र कपडाको मात्रा घटेको छ भने नेपालबाट भारत पठाइने सुपारी, गुट्खा, मदिरा र सुन चाँदी नियन्त्रणमा लिइएको छ । सीमामा स्थायी चेक पोस्ट, मोबाइल गस्ती र विशेष अपरेसनका माध्यमबाट निगरानीलाई व्यवस्थित बनाइएको उनले बताए ।
प्रहरीले सीमावर्ती क्षेत्रका बासिन्दासँग पनि सहकार्य बढाएको छ । तस्करी नियन्त्रणका लागि समुदायबाट सुराकी संकलन, गोप्य सूचनाको प्रयोग र स्थानीय प्रशासनको सहकार्यमा कारबाही अघि बढाउने गरिएको प्रहरीले जनाएको छ । सीमावर्ती बस्तीमा तस्करीका विषयमा सचेतना फैलाउने कार्यक्रम पनि सञ्चालन गरिएको एसपी चिमरियाको भनाइ छ ।
केही व्यापारी र तस्करीबाट प्रत्यक्ष लाभ लिने पक्षले सीमामा प्रहरीले अनावश्यक हस्तक्षेप गरेको भन्दै असन्तुष्टि व्यक्त गर्ने गरेका छन् । तर, मोरङ प्रहरीले भने कानुनी प्रक्रिया अनुसार निगरानी र नियन्त्रण अभियान सञ्चालन गरेको छ । तस्करीविरुद्धको अभियानलाई अझै प्रभावकारी बनाइने चिमरियाको भनाइ छ ।
सुरक्षात्मक निगरानी प्रणाली सुदृढ बनाएर स्थानीय तह, सीमा क्षेत्रका बासिन्दा र सरोकारवालासँगको सहकार्यमा नेपाल–भारत सीमामा भइरहेका तस्करी नियन्त्रण गर्न प्रहरी सक्रियता बढाइएको उनले बताए । तस्करी रोक्दा दीर्घकालीन रूपमा राज्यको राजस्व वृद्धि हुनुका साथै सुरक्षा मजबुत भएर आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने जानकारी एसपी चिमरियाले दिए ।

























