लहानबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १०, शनिबार १४:२५
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

सिरहा । सिरहाको लहान नगरपालिका–३ स्थित अस्पताल चोकबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी रकमसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लाको लौकाहा बजारका अन्दाजी २४ वर्षीय राहुल कुमार रहेका छन् । लहान सुरक्षा बेस क्याम्पबाट खटिएको सशस्त्र प्रहरीको टोलीले नियमित सवारी चेकजाँचको क्रममा उनलाई शनिबार बिहान नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाका गणपति तथा एसपी नरेश भण्डारीका अनुसार सुनसरीको इनरुवाबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बस बिहान करिब ९ः३० बजेतिर चेकजाँच गर्दा राहुल पक्राउ परेका हुन् । चेकजाँचका क्रममा १० लाख १ हजार ६ सय ९५ रुपैयाँ बरामद भएको सशस्त्रले जनाएको छ ।

बरामद नगदबारे कुमारले कुनै स्पष्ट स्रोत नखुलाएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । हाल उनलाई बरामद रकमसहित आवश्यक कारबाही प्रक्रिया अघि बढाउन भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ।

सशस्त्र प्रहरीले नेपाल–भारत सीमाक्षेत्र हुँदै अवैध रूपमा हुने नगद ओसारपसार र अन्य आपराधिक क्रियाकलाप रोक्न नियमित निगरानी तथा चेकजाँचलाई थप सशक्त बनाएको उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.