कोशीमा अपराधी पक्राउ गरेर १ हजार ४ सय १६ वर्ष कैद असुल

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १०, शनिबार १५:००

विराटनगर । कोशी प्रदेशमा विभिन्न अपराधमा संलग्न भएर भागिरहेका अपराधीलाई पक्राउ गरेर १ हजार ४ सय १६ वर्षभन्दा बढी कैद असुल गरिएको छ ।

प्रहरीले १ वर्षको अवधि अर्थात्, आर्थिक वर्ष २०८१–०८२ मा ३ हजार ५ सय १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको थियो । पक्राउ परेकाबाट १ हजार ४ सय १६ वर्षभन्दा बढी कैद र १४ करोड ७७ लाख रूपैयाँभन्दा बढी जरिबाना असुल भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

विभिन्न अपराधमा संलग्न भएकाहरु अदालतले दोषी ठहर गर्दै कैद तथा जरिबानाको फैसला गरेको भए पनि सजाय भुक्तान नगरिकन लामो समयदेखि फरार हुँदै आएका थिए । फरार भएका ठूलो संख्याका अपराधीलाई पक्राउ गरेर कैद र जरिबाना असुल गर्न प्रहरी सफल भएको श्रेष्ठको भनाइ छ ।

सबैभन्दा धेरै प्रतिवादी मोरङबाट पक्राउ परेका छन् । १ वर्षको अवधिमा १ हजार १ सय ५६ जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । मोरङ प्रहरीको नेतृत्व एसपी नारायणप्रसाद चिमरियाले गरिरहेका छन् । प्रतिवादी पक्राउ गर्नका लागि इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा विशेष टोली खटाइएको छ । मोरङ जिल्लाका विभिन्न प्रहरी युनिटले पनि प्रतिवादी पक्राउलाई प्राथमिकतामा राखेर काम गरिरहेको डीएसपी चुँडालको भनाइ छ ।

मोरङपछि सुनसरीबाट धेरै प्रतिवादी पक्राउ परेका छन् । १ वर्षको अवधिमा १ हजार २ जना प्रतिवादी पक्राउ परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । सुनसरी प्रहरी एसपी सुमनकुमार तिम्सिनाको नेतृत्वमा छ ।

प्रहरीले झापाबाट ५ सय ३४, उदयपुरबाट २ सय ६०, इलामबाट १ सय ४६, ओखलढुंगाबाट ६९, धनकुटाबाट ५७, खोटाङबाट ५३, ताप्लेजुङबाट ४८, तेह्रथुमबाट ४५, भोजपुरबाट ४४, पाँचथरबाट ४२, संखुवासभाबाट २८ र सोलुखुम्बुबाट १४ जनालाई पक्राउ गरेको छ । त्यस्तै, प्रादेशिक अनुसन्धान समूहले १५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको थियो ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्की ठूलो संख्यामा प्रतिवादी पक्राउ गर्न प्रहरी सफल हुँदा ‘अपराध गर्ने छुट कसैलाई छैन, अपराधमा संलग्न भए पनि लुकेर र भागेर धर पाइँदैन’ भन्ने सन्देश समाजमा प्रवाह भएको बताउँछन् । उनले भने, ‘ढिलो होस वा चाँडो अपराध गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेरै छाड्छ ।’

भागिरहेका अपराधीलाई पक्राउ गरेर कानुनको दायरामा ल्याउँदा प्रदेशका नागरिकको विश्वास जित्न प्रहरी सफल भएको कार्कीको भनाइ छ । कानुनी राज्यको प्रत्याभूति दिलाउने र न्याय प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले विशेष अभियान चलाएर फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राखेर प्रहरीले काम गरिरहेको उनले बताए ।

‘फरार प्रतिवादी पक्राउ गर्न विगत केही समयदेखि विशेष रणनीति अपनाउँदै सूचना प्रविधिको प्रयोग एवं समुदायको समन्वय र सहकार्यमा प्रहरी अघि बढ्दा उल्लेखनीय सफलता हासिल भएको छ,’ डीआईजी कार्कीले भने, ‘अदालतबाट दोषी ठहर भएर पनि कैद र जरिबाना भुक्तान नगरिकन भागिरहेकालाई पक्राउ गर्दै कानुनी दायरामा ल्याउन तथा कानुन र फैसलालाई जीवन्तता प्रदान गरी न्यायलाई साकार बनाउन अभियानलाई प्रभावकारी ढंगबाट अगाडि बढाइएको छ ।’

अपराधी खुलेआम हिँड्डुल गर्दा शान्ति सुरक्षामा चुनौती थपिने, पीडितले न्यायको अनुभूति गर्न नपाउने, समाजमा नकारात्मक असर पर्ने र अपराधीको मनोबल बढेर अर्को अपराधमा संलग्न हुनेजस्ता समस्या आउने उनको भनाइ छ । उनले प्रतिवादी पक्राउ गर्न प्रहरीको विशेष टोली नै परिचालित रहेको बताए ।

‘फरार प्रतिवादी पक्राउ गर्न नागरिकको साथ र सहयोग अपरिहार्य छ । गाउँघर तथा छिमेकमा लुकिछिपी बस्दै आएका त्यस्ता अपराधीका बारेमा तत्काल प्रहरीलाई जानकारी गराउनुपर्छ,’ कार्की भन्छन्, ‘प्रहरीले पक्राउ गरेर कानुनको दायरामा ल्याउँछ । अनि मात्रै समाजमा शान्ति सुरक्षाको अवस्था मजबुत बन्छ ।’ प्रहरीलाई सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने बताउँदै उनले भने, ‘तपाईंहरु प्रहरीलाई सूचना दिनुहोस्, प्रहरीले तपाईंहरुको सुरक्षा गर्छ ।’

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.