विश्वासमै ठगिए व्यवसायी र प्रहरी : निर्माण सामग्री खरिदको बहानामा करोडौं लिएर रमेन्द्र पौडेल फरार

Share this
635shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १४, बुधबार १३:१९

इटहरी । सुनसरीको रामधुनी नगरपालिका–३ का ४० वर्षीय रमेन्द्र पौडेलले निर्माण सामग्री किन्ने बहानामा करोडौं रुपैयाँ ठगी गरेको खुलेको छ ।

‘आधारशिला सप्लायर्स’ नामक फर्ममार्फत उनले स्थानीय व्यवसायी, प्रहरी कर्मचारी र सर्वसाधारणलाई विश्वासमा पारी रकम असुली गरेका हुन् । सुरुमा सानो परिमाणमा सामान किनेर तत्कालै भुक्तानी गर्ने र त्यसपछि ठूलो परिमाणको सामान लिएर चेक दिएको पाइएको छ । त्यसको रकम नतिरी फरार भएका पौडेल १ वर्षभन्दा बढी समयदेखि सम्पर्कविहीन छन् ।

पीडित टेकनाथ ढकालका अनुसार पौडेलले २०७८ देखि २०७९ सालसम्म आफूलाई करिब १ करोड ३४ लाख ५८ हजार रुपैयाँ बराबरको चेक दिएका थिए । तीमध्ये २ चेक ‘एभरेष्ट केमिकल ट्रेडर्स’ र २ चेक रमा ढकालको नाममा काटिएका थिए ।

४ वटा चेक बाउन्स भएपछि पौडेलले ठगी गरेको पुष्टि भएको हो । ढकालले भने, ‘सुरुमा विश्वास जिते । ठूलो कारोबार गर्न थालेपछि पैसा तिर्न छाडे । अहिलेसम्म पौडेलसँग १ करोड ७५ लाख उठ्न बाँकी छ ।’

यस प्रकरणमा प्रहरी कर्मचारीसमेत पीडित बनेका छन् । रमेन्द्र पौडेलसँग चिनजानको भरमा १ प्रहरी कर्मचारीले उनलाई ३ लाख रुपैयाँभन्दा बढी सापटी दिएका थिए । ती प्रहरी भन्छन्, ‘मैले अरूलाई सावधानी अपनाउन सुझाउँथे । तर, आफैँ ठगिएँ ।’

पौडेलविरुद्ध पीडित टेकनाथ ढकालले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । त्यसपछि कार्यालयले २०८२ असार १६ गते जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्र लेख्दै पौडेललाई छलफलका लागि उपस्थित गराउने अनुरोध गरेको छ । पत्रमा उल्लेख भएअनुसार ‘निर्माण सामग्री खरिद गरेको रकम नदिएको’ उजुरीको आधारमा अनुसन्धान थाल्न भनिएको छ ।

यसैगरी, इटहरीका अर्का व्यवसायी गोपालकृष्ण श्रेष्ठले २०८१ भदौ ३१ गते सुनसरी जिल्ला अदालतमा पौडेलविरुद्ध मुद्दा दायर गरेका थिए । श्रेष्ठलाई पनि पौडेलले राष्ट्रिय वाणिज्य बैंकमार्फत २ लाख २० हजार रुपैयाँको चेक दिएका थिए । तर, त्यो चेकसमेत नसाटिएपछि अदालतले पौडेलबाट भुक्तानी हुनुपर्ने फैसला गरेको छ । तर, पनि पौडेल फरार नै छन् ।

पौडेलकै कम्पनीमा काम गरेका कर्मचारीका अनुसार उनी अहिले प्रत्यक्ष रूपमा नदेखिए पनि अरू व्यक्तिहरूलाई प्रयोग गरी पीडितहरूलाई धम्की दिइरहेका छन् । ती कर्मचारीले भने, ‘मुद्दा मिलाउनुपर्छ भनेर धम्की दिने क्रम बढ्दै गएको छ ।’

पीडित टेकनाथ ढकालले पौडेल काठमाडौं भागेका हुन् भन्ने शंका व्यक्त गरेका छन् । उनले भने, ‘राजनीतिक संरक्षणमा भागेका हुन् । प्रशासनिक पत्रचार भएर मात्र केही हुँदैन ।’

रामधुनी, इटहरी र विराटनगर क्षेत्रका थुप्रै व्यवसायी र सर्वसाधारण पौडेलको ठगीबाट पीडित बनेका छन् । सामूहिक उजुरीको तयारी भइरहेको छ भने प्रहरी र प्रशासनमाथि दबाब पनि बढ्दै गएको छ । पीडितहरू लिखित उजुरी, प्रमाण र चेकहरू प्रशासन र प्रहरी कार्यालयमा दर्ता भए पनि हालसम्म पौडेल पक्राउ नपरेको बताउँछन् ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले भने, ‘हामीकहाँ अहिलेसम्म लिखित उजुरी आएको छैन जस्तो लाग्छ । उजुरी आएपछि खोजी र अनुसन्धान अघि बढ्छ ।’ तर, पीडितहरू भने कागजपत्रसहित उजुरी दिइसकेको बताउँछन् ।

यो प्रकरणले निर्माण सामग्री व्यवसाय गर्ने व्यापारीहरू मात्र होइन, प्रहरीजस्ता सचेत कर्मचारीसमेत ठगिने अवस्था सृजना भएको देखाएको छ । राज्य संयन्त्रको अनुसन्धान गति सुस्त भएको र कानुनी संरक्षणको आशंका बढ्दै गएको भन्दै सर्वसाधारणमा असन्तोष बढ्दै गएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.