
धनगढी । सेकुवा सेन्टरमा काम गर्ने किशोरीको हत्या भएको छ । सेकुवा सेन्टरमै काम गर्ने कर्मचारीले चक्कु प्रहार गरेर किशोरीको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कैलालीको बर्दगोरिया गाउँपालिका–३ घर भएकी १७ वर्षीया किशोरी याचना सेजुवालको हत्या भएको हो । उनी बर्दगोरिया–१ स्थित राजधानी सेकुवा एण्ड मःम सेन्टरमा काम गर्दै आएकी थिइन् ।
सेजुवाललाई सोही सेकुवा सेन्टरमा काम गर्ने बर्दगोरिया–१ का ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेको कैलाली प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहले बताए । उनीमाथि शनिबार बिहान १० बजेतिर चक्कु प्रहार भएको थियो ।
गम्भीर घाइते भएकी उनको उपचारका क्रममा धनगढीको निसर्ग हस्पिटलमा मृत्यु भएको जानकारी डीएसपी सिंहले दिए । चक्कु प्रहार गरेर किशोरीको हत्या गर्ने साउदलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको कारण खुल्न बाँकी छ । थप अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको जानकारी प्रहरीले दिएको छ ।

























