
सप्तरी । प्रहरीको गोली लागेर सप्तरीमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजगड गाउँपालिका–२ का २५ वर्षीय लालु यादव रहेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।
राजगड–२ मा मदिरा भण्डारण गरिएको ठाउँमा मंगलबार राति सर्च अप्रेसन चलाउँदा मदिरा तस्करसँग झडप भएको प्रहरीले जनाएको छ । झडपपछि प्रहरीले गोली चलाएको थियो । गोलीबाट यादवको मृत्यु भएको मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले बताए ।
उनका अनुसार सीमानजिकबाट मदिरा भण्डारण गरी तस्करी भइरहेको सूचनाका आधारमा प्रहरी पुगेपछि तस्करसँग झडप भएको थियो । प्रहरीलाई घेरा हालेर ढुंगामढा प्रहार गर्न थालेपछि आत्मरक्षाको लागि प्रहरीले ७ राउण्ड गोली चलाएको चतुर्वेदीले बताए ।
तस्कर समूहसँग भएको झडपमा लालु यादवको तिघ्रामा गोली लागेको थियो । उपचारका लागि लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको हो ।
प्रहरीले घटनास्थलबाट विभिन्न ब्रान्डका ८० कार्टुन रक्सी बरामद गरेको छ । घटनास्थल सप्तरीको राजगढ गाउँपालिका क्षेत्रअन्तर्गत नेपाल–भारत सीमानजिकै पर्छ । घटनापछि सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

























