
विराटनगर । फरक क्षमता भएकी महिलामाथि बलात्कारको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लिखुपिके गाउँपालिका–२ पोखरीका ४५ वर्षीय रामचन्द्र बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुले जनाएको छ । उनी रास्वपा पालिका सभापति हुन् ।
बस्नेतमाथि २०८१ साउन ६ गते साँझ ५ बजे फरक क्षमता (अपांगता) भएकी महिलामाथि जबर्जस्ती करणी गरेको आरोप छ । घटनापछि उनी फरार भएका थिए ।
एक वर्षभन्दा बढी समयसम्म फरार रहेका बस्नेतलाई प्रहरीले २०८२ साउन १९ गते दिउँसो १२:४५ बजे काठमाडौं महानगरपालिका–१६, वनस्थलीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुका प्रवक्ता एवम् प्रहरी निरीक्षक विकास राईको जानकारी दिए ।
उनका अनुसार पक्राउपछि उनलाई अनुसन्धानका लागि सोलुखुम्बु जिल्ला अदालतमा पेश गरिएको छ । अदालतले प्रारम्भिक अनुसन्धानका लागि सात दिनको म्याद दिएको प्रवक्ता राईले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक राईले जानकारी दिए ।

























