
धनगढी । कैलाली जिल्ला कारागारको अवस्था प्रहरी नियन्त्रणमा आएको छ । शनिबार बिहान कारागार कैदीबन्दीको कब्जामा लिएका थिए । ठूलो संख्यामा प्रहरी परिचालन गरी कारागार सामान्य अवस्थामा आएको हो ।
शुक्रबार राति कैदीबन्दीहरूबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो । ४४ जना घाइते भएका थिए । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।ृ
घाइते भएका ४४ जना कैदीबन्दीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
कारागारको ब्लक ‘ए’ र ‘बी’ मा बस्ने कैदीबन्दीबीच झडप भएको थियो । कैदीबन्दीको सरुवा र नाइके बन्ने विषयमा उत्पन्न विवादले झडपको रुप लिएको थियो ।
घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा बसेको बैठकले गठन गरेको समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।
राष्ट्रिय मानव अधिकार आयोगको टोलीले पनि घाइतेहरुको अवस्थाबारे जानकारी लिएको छ। १५० जनाको क्षमता रहेको कैलाली कारागारमा हाल ६८० जना कैदीबन्दी छन् ।

























