
काठमाडौं । सेयर बजार विश्लेषणको नाममा सामाजिक सञ्जालमा प्रचार गरिएको ‘नेप्से एआई’ एप डाउनलोड गर्दा बैंक खाताबाट लाखौं रुपैयाँ चोरी हुन पुगेको घटना सार्वजनिक भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा यससम्बन्धी उजुरीहरु दर्ता भइसकेका छन् । १ व्यक्तिको खाताबाट मात्र २८ लाख ६१ हजार रुपैयाँ चोरी भएको ब्युरोले जनाएको छ ।
फेसबुक, इन्स्टाग्राम र टिकटकमा आएको विज्ञापनमार्फत एप डाउनलोड गराउने प्रलोभन दिइने र त्यसपछि पीडितको बैंक खाताबाट रकम निकाल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ब्युरोका एसपी युवराज खड्काले यस्ता उजुरीहरू धेरै आएको जनाउँदै अनधिकृत एप डाउनलोड नगर्न र गुगल प्ले स्टोर वा आइओएस एप स्टोरबाट मात्र एप लिन सुझाव दिएका छन् ।
साथै, टु फ्याक्टर अथेन्टिकेशन प्रयोग गर्न, पासवर्ड समय–समयमा परिवर्तन गर्न, सामाजिक सञ्जालका विज्ञापनको सत्यता बुझ्न र एनी डेस्क वा टिम भ्युअरजस्ता रिमोट एक्सेस सफ्टवेयर अरुलाई नदिन ब्युरोले आग्रह गरेको छ । शंका लाग्ने वित्तीय गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी दिन पनि ब्युरोको आग्रह छ ।

























