
झापा । झापामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेर गर्भवती बनाएको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गौरादह नगरपालिका–९ झमकचौकका ५० वर्षीय डिकबहादुर राईलाई पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार गत माघ महिनाको पहिलो साता डर र त्रास देखाई जबरजस्ती करणी गरी बालिकालाई गर्भतवी बनाएको जानकारी इलाका प्रहरी कार्यालय झिलझिलेमा गत जेठ २८ गते प्राप्त भएको थियो ।
त्यसलगत्तै राईविरुद्ध प्रहरीमा जबरजस्ती करणी मुद्दा दर्ता भयो । प्रहरीले राईको खोजी सुरु गर्यो । गोप्य रूपमा खोजतलास सुरु गरेको प्रहरीले अन्ततः राईलाई पक्राउ गरेको हो ।
राईलाई शिवसताक्षी नगरपालिका–६ शिवगन्जमा फेला पारेर बुधबार बिहान पक्राउ गरिएको डीएसपी खड्काले बताए । राईविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन जिल्ला अदालत झापाबाट म्याद थप गरेर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।
उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट प्रहरीले पहिलो चरणमा ५ दिनको म्याद पाएको छ । थप विषय अनुसन्धानपछि खुल्ने प्रहरीको भनाइ छ ।

























