
काठमाडौं । अभद्र व्यवहारको कसुरमा धरौटीमा रिहा हुने आदेश पाए पनि ‘गुण्डा नाइके’ भनेर चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलन तत्काल हिरासतमुक्त हुने सम्भावना टरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको बुधबारको इजलासले चक्रेलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । अदालतको आदेशपछि तोकिएको धरौटी बुझाउने प्रक्रिया सुरु भए पनि उनलाई तत्काल छुटाउन नपाइने भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार चक्रेविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको मुद्दा रहेको हुँदा उनलाई त्यहाँ पठाइने छ । उता जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डिराज न्यौपानेले पनि काठमाडौंबाट रिहा हुनेबित्तिकै चक्रेलाई भक्तपुर ल्याइने पुष्टि गरे ।
यसपटक धरौटी मागिएका अन्य प्रतिवादीहरुले रकम बुझाएर बुधबार नै छुटे पनि चक्रे भने अर्को मुद्दाका कारण थुनामै रहनुपर्ने भएको छ । भक्तपुरमा दर्ता भएको मुद्दा २०८१ भदौ १० मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेष्टुरेन्टमा भएको आक्रमणसँग सम्बन्धित छ ।
पीडित दिनेशकुमार रायमाझीले दिएको जाहेरीअनुसार उनका भतिजो मनिष रायमाझीमाथि सर्लाहीको हरिवन नगरपालिका–४ का २५ वर्षीय अजित खवाससहितको समूहले खुकुरी प्रहार गरेको थियो । जाहेरीमा चक्रेको नामसमेत उल्लेख भए पनि त्यतिबेला उनको ठेगाना नखुलेको भन्दै प्रतिवादी सूचीमा समावेश गरिएको थिएन ।
सो आक्रमणमा रायमाझीको दुवै कोखमा गम्भीर चोट लागेको थियो । अब चक्रेमाथि सोही घटनामा ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान गरिने भएकाले उनलाई भक्तपुर लैजान लागिएको हो ।
चक्रे मिलन यसअघि १५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त अपरेसनमा पक्राउ परेका थिए । मध्यराति महाराजगञ्जस्थित होटल साम्बालामा आफ्नो जन्मदिनको पार्टी मनाउने क्रममा ठूलो होहल्ला भएको सूचनाका आधारमा प्रहरीले छापा मार्दा चक्रेसहित ४७ जनालाई नियन्त्रणमा लिएको थियो ।
त्यसमध्ये २८ जनालाई पछि रिहा गरिएको थियो । अरुलाई प्रतिवादी बनाएर मुद्दा चलाइयो ।

























