
सर्लाही । सर्लाहीमा गोली प्रहार गरी १ जनाको हत्या भएको छ ।
जिल्लाको हरिपूर्वा नगरपालिका–६ मा शुक्रबार राति गोली प्रहार गरी ४० वर्षीय रामपुकार यादवको हत्या भएको हो । गोली प्रहार गर्नेहरूको परिचय खुलेको छैन ।
शुक्रबार राति करिब ८ बजेतिर घरमा छरछिमेकीसँग कुराकानी गरेर बसिरहेका बेला मोटरसाइकलमा आएका २ जना व्यक्तिले रामपुकारलाई गोली प्रहार गरी फरार भएका थिए ।
टाउकोमा गोली प्रहार हुँदा गम्भीर घाइते भएका रामपुकारलाई उपचारका लागि महोत्तरीको पर्सास्थित एक स्वास्थ्य संस्थामा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक रामपुकारको शव शनिबार बिहानसम्म सोही अस्पतालमा छ ।
हरिपूर्वा नगरपालिका–६ का वडाध्यक्ष रामसोगारथ राय यादवका अनुसार गोली हानेर हत्या गरिएका रामपुकार गाउँघरमा खेती किसान गर्ने र समस्यामा परेका व्यक्तिलाई ऋण लगानी गर्थे । उनले केही समय सदरमुकाम मलंगवाको एक निजी विद्यालयमा अध्यापन पनि गराएका थिए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी राईका अनुसार रामपुकारलाई गोली प्रहार गरेर फरार भएका व्यक्ति सवार मोटरसाइकल गएराति नै हरिपूर्वा नगरपालिका–७ मा दुर्घटनामा परेको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका र उनलाई लालबन्दीमा उपचार गरी थप उपचारका लागि जनकपुर लगिएको डिएसपी राईले बताए ।
प्रहरीले ति व्यक्तिको परिचय भने गोप्य राखेको छ । घाइते व्यक्ति बोल्न सक्ने अवस्थामा छैनन् । गोली प्रहार गर्नेमध्येका अर्का व्यक्ति भने फरार रहेका प्रहरीले बताएको छ ।
प्रहरीले गोली प्रहार गर्ने व्यक्तिहरु सवार दुर्घटनामा परेको मोटरसाइकल बरामद गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी राईले बताए ।

























